खाँदबारी बजारमा सिसिटिभी जडान

510

खाँदबारी । सङ्खुवासभाको सदरमुकाम खाँदबारी बजारमा अपराधिक क्रियाकलापहरु न्यूनीकरण गर्ने उद्देश्यले सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

सोमबार एक कार्यक्रमबीच जिल्ला प्रहरी कार्यालयमा सिसिटिभी क्यामेराको उद्घाटन गरिएको हो । समृद्ध खाँदबारी नगर बनाउने सन्दर्भमा सबैभन्दा महत्वपूर्ण शान्ति सुरक्षा भएकाले बजारका मुख्य चौकहरुमा सिसिटिभी क्यामेरा जडान गर्ने प्रस्ताव आएपछि सहर्षरुपमा स्वीकारेर कार्यक्रम अघि बढाएको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले बताए ।

सदरमुकाम खाँदबारी बजार र आसपासका क्षेत्रमा दिनानु दिन अप्रिय घटनाहरु घट्ने, निषेधाज्ञाको समयमा समेत अटेर गर्ने प्रवृत्तिसमेत बढेको समयमा शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्नका लागि बजारका मुख्य-मुख्य क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बजार क्षेत्रका विभिन्न व्यक्ति, वित्तिय बैंक तथा संघसंस्थाहरुको सहयोगमा सिसिटिभी जडान गरिएको स्पष्ट पारे ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय सङखुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले प्रायः जसो भौतिक पूर्वाधारलाई मात्रै विकास भन्ने गरिएपनि यस्ता काम पनि विकास र समृद्धि अन्तर्गत नै पर्ने भएकाले आफ्नो कार्यकालमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्नका लागि बजार क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गर्न पहल गरेको बताए ।

सदरमुकाम खाँदबारीको जिल्ला प्रहरी कार्यालय अगाडिदेखि भानुचोक, नगरपालिका चोक हुँदै देवकोटा चोकसम्म सिसिटिभी क्यामेरा जडान गरिएको छ भने तुम्लिङ्टार क्षेत्रमा कत्लेभञ्जाङ र सभाखोलामा समेत सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

मुख्य-मुख्य चोक र बजार क्षेत्रमा हाल ३२ वटा सिसि टिभी क्यामेरा जडान गरिएको छ । भने निकट दिनमा ५० वटा पु¥याउने लक्ष्य राखिएको जनाएको छ ।

सोही कार्यक्रममा सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लको श्रीमती स्मृति राणा मल्लले व्यक्तिगतरुपमा माट्स नेपालद्वारा सञ्चालित अनाथलय बालगृहलाई स्टेसनरी, मानेभञ्जाङ सुस्तश्रवण विद्यालयका बालबालिकालाई स्टेसनरी, मनकामना बृद्धाश्रमका बृद्धबृद्धालाई खाद्यान्न र मनकामना गुरुकुललाई १० हजार नगद र जिल्ला कारागारका कैदीबन्दीलाई पुस्तकालय खरिद गर्न १० हजार रुपैयाँ सहयोग समेत हस्तान्तरण गरेकी थिइन् ।

श्रोतः रेडियो सङ्खुवासभा

Share This:
सम्बन्धित खबर
Loading...