काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थप्ने सहमति, सार्वजनिक सवारी साधनबारे भोलि निर्णय हुने

519

काठमाडौं । निषेधाज्ञा थप गर्ने विषयमा काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)को कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)को बैठकले सोमबार मात्रै निर्णय गर्ने भएको छ ।

आइतबार साँझ तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा निषेधाज्ञा अझै एक साता थप्ने समझदारी बनेको हो । तर, सार्वजनिक यातायात सञ्चालन र्गो विषयमा अझै अध्ययन गर्नुपर्ने भएकाले सोमबार बिहान १० बजे बैठक बसेर निर्णय लिने समझदारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।

यसपटक थपिएको निषेधाज्ञा केही खुकुलो बनाइने तयारी गरिएको छ । सार्वजनिक सवारी साधनलाई पनि वैज्ञानिक ढंगबाट सञ्चालन गर्ने विषयमा छलफल भएको छ । सवारी सिट क्षमता र जोरबिजोर नम्बरको आधारमा चल्न दिने विषयमा बैठकमा छलफल भएको हो ।

“सार्वजनिक सवारी साधनको विषयमा छलफल भयो । चल्नदिने भए कसरी वैज्ञानिक तरिकाले चलाउने भन्ने विषयमा छलफल भएको छ । तर, केही निर्णय भएको छैन । भोलि फेरि छलफल गरेर निर्णय हुन्छ,” प्रजिअ निरौलाले भने ।

जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...