तपाईंहरु स्थायी सरकार हो, मन्त्री पद बोल्दाबोल्दै पनि जानसक्छ : मन्त्री श्रेष्ठ

471

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले कर्मचारी स्थायी सरकार रहेको तर, मन्त्री पद भनेको बोल्दाबोल्दै जान सक्ने बताएका छन् ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै कर्मचारीसँगको ब्रिफिङमा मन्त्री पद जुनसुकै बेला जान सक्ने तर, कर्मचारी देशको स्थायी सरकार रहेको उनले बताए ।

“तपाईंहरु स्थायी सरकार हो, हामी मन्त्री यहाँ बोल्दाबोल्दै पद जान सक्छ । त्यसैले, संकटमा लड्न तपाईंहरुको भूमिका मुख्य हुन्छ,”उनले भने ।

उनाले तेश्रो लहरले बालबालिकामा जोखिम देखिन सक्ने भएकाले त्यसको पूर्व तयारी गर्नुपर्ने बताए । उनाले आफू काम र परिणाममा विश्वास गर्ने जिकिर गरे । मन्त्री श्रेष्ठले नागरिकलाई खोप दिनुपर्ने अहिलेको ठूलो काम भएको भन्दै त्यसका लागि सरकार गम्भीर भएर अघि बढेको जानकारी दिए । कोरोना संकटमा लड्नका लागि कर्मचारीको मुख्य भूमिका रहने बताएका छन् । साथै, यस्तो अवस्थामा दत्तचित्त भएर लागिपर्ने पनि उनले कर्मचारीलाई आग्रह गरे ।

“विगतमा जे भयो–भयो वर्तमानमा राम्रो साथ र सहयोगको खाँचो छ । यसकारण अन्तरआत्मदेखि यहाँहरुको सहयोगको अपेक्षा राख्छु । सबैले विश्वासका साथ काम गर्यो भने मात्रै चुनौतीको सामना गर्न सकिन्छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी दिएपछि उनले शुक्रबार स्वास्थ्य मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् । मन्त्री श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयसँगै वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...