कोरोना नियन्त्रणमा राष्ट्रपति भण्डारीको चासो : स्वास्थ्यमन्त्री तामाङ शितल निवासमा

382

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम तथा र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिएकी छन् ।

उनले स्वास्थ्यमन्त्री शेर बहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शितल निवासमा आइतबार बोलाएर अहिले कोभिड–१९ संक्रमण र त्यसविरुद्धको खोप अभियानको वर्तमान अवस्था, उचित व्यवस्थापन, रोकथाम र समग्र स्वास्थ्य प्रणालीको व्यवस्थापनका लागि भइरहेको तयारीबारे जानकारी लिएको मन्त्रालयका सहप्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले कोभिड–१९ सम्बन्धी भएका कामलाई थप प्रभावकारी एवम् व्यवस्थित बनाउन र नेपाली जनताको जीवनरक्षाका लागि खोप अभियानलाई प्राथमिकताका आधारमा सञ्चालन गर्नुपर्ने बताइन् ।

उनले आगामी दिनमा कोभिड–१९ को संक्रमणबाट हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न प्रतिकार्य योजना बनाइ कार्य गर्न आग्रह गरिन् । राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवा राज्यको जिम्मेवारी भएकाले स्वास्थ्य संस्थाको स्तरोन्नति र सबलीकरण गर्ने, आम नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन र वैकल्पिक तथा प्राकृतिक उपचारमा लगानी बढाउन सुझाव दिइन् ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका भूमिका खेल्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको प्रशंसा गरेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...