काठमाडौं । निवर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू अब एमाले महासचिवका रुपमा पार्टीको काममा केन्द्रित हुने बताएका छन् ।
सरकारबाट बाहिरिएपछि आइतबार एक वक्तव्य जारी गर्दै पोखरेलले पार्टी कसरी सञ्चालन गर्ने भन्नेबारे आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरिसकेको र अध्यक्षका आशयलाई आफूले बुझ्ने प्रयत्न गर्दै आएको बताएका छन् ।
“म नेकपा (एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव (तर, ‘महान र ऐतिहासिक’ भनिएको एमाले–माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन ! तर, २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले–माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म पुनः एमालेको महासचिव रहन पुगेको छु । यो अवस्थामा मैले बुझेको छु,” उनले विज्ञप्तिमा भनेका छन्,“पार्टीका आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्बन्धमा कुराहरू भएका छन् । उहाँले मलाई परिस्थितिको गम्भीरता बारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु।”
पोखरेलले अहिले सबैतिर पार्टी छ तर, कहीँ पनि पार्टी छैन जस्तो अवस्था रहेको भन्दै यसलाई बदल्नुपर्ने चुनौती रहेको बताएका छन् । पोखरेलले पार्टीभित्रको एकतासमेत अहिले संकटमा रहेकाले यसलाई जोगाउन आफू लाग्ने बताएका छन् ।
पोखरेलले मन्त्री हुँदा आफूले सुविधावापत प्राप्त गरेका सबै दायित्वहरु राज्यलाई बुझाइसकेको र मन्त्री क्वार्टर शनिबार नै खाली गरिसकेको बताएका छन् ।
पोखरेलले कोभिड संक्रमितको उपचारका लागि ७ महिनाको पारिश्रमिक बराबर ४ लाख ५७ हजार ४ सय रुपैयाँ कोभिड कोषमा बुझाएका छन् । त्यस्तै, पार्टीको कोषमा लेवीबापत ६ लाख ५ हजार रुपैयाँ बुझाएको पोखरेलले जनाएका छन् ।