काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्यलक्ष्मी शाहले आफूहरुको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्यलाभको कामना गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।
बिहीबार नाति हृदयेन्द्र शाहको इन्स्ट्राग्राममार्फत् एक भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले आफूहरुको स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने देश भित्र र बाहिरका सबै नेपालीप्रति आभार व्यक्त गरेका हुन् ।
“हामी दुवै पूर्णस्वास्थ्य लाभको प्रक्रियामा छौं । तर, देशभित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ,” उनले भिडियो सन्देशमा भने ।
पूर्वराजा शाहले अग्रपंक्तिमा रहेर महामारीविरुद्ध दिनरात खटिरहेकाहरुलाई धन्यवाद दिएका छन् । “अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसरफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई धन्यवाद दिन चाहन्छौँ,” उनले भने ।
साथै, उनले देशलाई संकट परेको बेलामा सहयोग गर्ने अन्तर्राष्ट्रिय समुदायलाई पनि धन्यावाद दिएका छन् । महामारीबाट जोगिन सावधानी अपनाउन पनि आग्रह गरेका शाहले उपचारको क्रममा रहेकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।