न्यायालय र कानुन व्यवसायीप्रतिको टिप्पणी हारेको मानसिकताको उपज : शेखर कोइराला

177

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्रीले न्यायालय र कानुन व्यवसायीहरुप्रति गरेको टिप्पणी हारेको मानसिकताको उपज भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वन्यायाधीशहरु र कानुन व्यवसायीहरुप्रति नकरात्मक टिप्पण गरेको भन्दै कोइरालाले त्यसलाई गणतन्त्रको अवमूल्यन तथा अधिनायकवादी व्यवस्थाको पूर्वाध्यासको रुपमा टिप्पणी गरेका हुन् ।

न्यायालय र कानुन व्यवसायीहरुप्रति प्रधानमन्त्रीको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नाको चाहना मात्रै भएको नेता कोइरालाको भनाइ छ ।

कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, “मेरो बुझाइमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरुप्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै हो ।”

नेता कोइरालाले सबै गणतन्त्रको आन्दोलनमा होमिँदा वर्तामान प्रधानमन्त्री ओलीले गणतन्त्रबारे बयलगाडा चढेर अमेरिका पुगिन्न भन्दै बसेको स्मरण गर्दै वकिलहरु कालो कोटमा आफूहरुसँग आन्दोलनमा उत्रिएको र कतिपय जेलमा पुगेको उल्लेख गरेका छन् ।

“आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्र प्रतिको निष्ठामा चोट पुगेको छ । कति चाँडै बिर्सन सकेको उनीहरुको योगदान ?,” कोइरालाले प्रश्न गरे ।

तानाशाहरुको पतन न्यायालयले गरेको उदाहरण प्रशस्तै रहेको भन्दै उनले त्यसलाई खोज्न अन्त जानु नपर्ने बताएका छन् । “हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालका गणतन्त्र आएको नहुन सक्थ्यो,” नेता कोइरालाले भने, “पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउँन चाहन्छु।”

नेता कोइरालाले न्यायालयमाथि प्रधानमन्त्रीको भनाइबारे सजग हुनुपर्ने र आ–आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गर्नुपर्ने उल्लेख गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...