बाँके र रुपन्देहीमा थप ७ जना संक्रमितको मृत्यु

487

रुपन्देही । कोरोना भाइरस सङ्क्रमणका कारण बाँके र रुपन्देहीमा थप ७ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई र एक जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

उपचारका लागि वैशाख २२ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका बुटवल– १ का ४८ वर्षका पुरुषको गएराति ११ बजे मृत्यु भएको हो भने गत २२ गते नै भर्ना भएकी बुटवल–११ कालिकानगरकी ३० वर्षीया महिलाको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । योसँगै रुपन्देहीमा हालसम्म कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ सय ५५ पुगेको छ ।

यसैगरी, बाँकेमा मृत्यु हुनेमा चार नेपालगञ्ज र एकजना बर्दियाका रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी ३८ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ६४ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी ६७ वर्षीय पुरुष र बर्दिया बढैयाताल गाउँपालिका–७ निवासी ५२ वर्षीय पुरुषको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी वैशाख १३ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ३८ वर्षीया महिला बिहान मृत्यु भएको छ ।

योसँगै बाँकेमा कोरोनाबाट १ सय ७४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय ३१ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...