संविधान र संसद्को रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन तयार छु : सभामुख सापकोटा

452

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफू संवैधानिकरुपमा जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका छन् । संविधानविद् र कानुन व्यवसायीसँग प्रतिनिधिसभा विघटनबारे परामर्शपछि सभामुख सापकोटाले यस्तो बताएका हुन् ।

“कानुनविद्हरुसँगको परामर्शपछि म केही उत्साहित भएको छु । संविधान र संसद्को रक्षाका लागि जस्तोसुकै जोखिम उठाउन र कदम चाल्न म तयार छु,” सापकोटाले भने,“निरन्तरको अन्तरक्रिया र नागरिकस्तरका सुझावपछि हामी एउटा निष्कर्षमा पुग्नैपर्ने छ । म अन्तमा परामर्श र छलफल दलहरुसँग नै गर्नेछु ।”

उनले लोकतन्त्रमा दलको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भन्दै उनीहरुको छलफल पछि सभामुखको भूमिकामा उठाउन मिल्ने÷उठाउन सकिने कदम चाल्ने बताए ।

वर्तमान परिस्थितिको आफूले मसिनोसँग विश्लेषण गरिरहेको सभामुख सापकोटाको भनाइ थियो । “असाधरण र धेरै गर्नका लागि दिन/दिनका, घन्टा/घन्टाका कुरालाई विचार, मनन गरेर ठोस स्थितिको ठोस विष्लेषण गर्दै छु । देश र जनताको अधिकतम हित गर्दा संविधान अनुसार संविधानको मर्म र भावनालाई ठीक ढंगले आत्मसाथ गरी माग गर्न तयार छु,” उनले भने ।

संसद्ले नै राष्ट्रपति र प्रधानमन्त्री जन्माउने भन्दै उनीहरुबाटै संसदमाथिको अवमूल्यन स्वीकार्य नहुने बताए ।

“संसदबाटै नै हो राष्ट्रपति र प्रधानमन्त्रीको जन्म हुने, उहाँहरुबाटै संसद्को अवमूल्यन किमार्थ स्वीकार्य हुँदैन,” उनले भने,“सम्बन्धित व्यक्तिले सोचेन भने त्यसले सम्बन्धितलाई नै असर गर्ने हो ।”

प्रतिनिधिसभाको दोस्रो विघटनले अदालतको आदेश पालना नभएको पनि सभामुख सापकोटाको भनाइ थियो । त्यस्तै, सरकार गठनका विषयमा कसको पक्षमा बहुमत छ र कसकोमा छैन भन्ने कुराको निर्क्यौल संसद्ले गर्नुपर्नेमा राष्ट्रपतिले गरेको भन्दै उनले असन्तुष्टि पनि जनाए ।

राष्ट्रपति संवधानको संरक्षक र पालना गर्ने संस्था भएकाले सोहीअनुसार भूमिका निर्वाह हुनुपर्ने उनको अपेक्षा थियो । “संविधानको पालना गर्ने, रक्षा गर्ने कुरा राष्ट्रपतिबाट सुरुवात हुनुपर्छ । त्सपछि, प्रधानमन्त्री, सभामुखबाट,” सापकोटाले भने,“जसरी गम्भीर हुनुपथ्र्यो त्यति गम्भीर हुन सकेनौँ कि भन्ने भएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...