राष्ट्रियसभा निर्वाचनमा बादललाई हराउन भूमिका खेल्ने १४ सांसद्लाई एमालेले सोध्यो स्पष्टीकरण [सूचीसहित]
काठमाडौं । नेकपा (एमाले)ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा पार्टीका उम्मेदवार राम बहादुर थापा‘बादल’लाई पराजित गर्न सक्रिय भूमिका खेलेको भन्दै १४ जना सांसद्लाई कारबाही अघि बढाएको छ ।
बागमती मुख्यमन्त्री तथा संसदीय दलका नेता डोरमणी पौडेलको अध्यक्षतमा शनिबार बासेको संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेसहित १४ जनासँग २४ घन्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गर्न अगुवाइ गरेको भन्दै १४ जना प्रदेशसभा सदस्यलाई आइतबार साँझ ५ बजेसम्म स्पष्टीकरण पेस गर्न भनिएको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले जानकारी दिए ।
लामो समयदेखि संसदीय दल, पार्टी र दलको नेता तथा सरकारविरुद्ध गतिविधि गरेको र निर्वाचनमा पार्टीलाई हराउन भूमिका खेलेको कारण कारबाही किन नगर्ने भनी स्वष्टीकरण मागिएको उनले बताए ।
स्पष्टीकरण सोधिएका प्रदेशसभा सदस्यहरु नेपाल समूहका शाक्यसहित १४ जना छन् । प्रदेशसभामा ५६ जना एमाले संसदमध्ये नेपाल समूहका २१ जना थिए ।
राष्ट्रियसभा निर्वाचनमा ७ जना नेपाल पक्षका सांसद्ले बादललाई भोट हालेकाले १४ जनालाई स्पष्टीकरण सोधिएको हो ।
यी हुन् स्पष्टीकरण सोधिएका सांसद्हरु
१. अष्टलक्ष्मी शाक्य
२. राजेन्द्रप्रसाद पाण्डे
३. अरुणप्रसाद नेपाल
४. बसन्तप्रसाद मानन्धर
५. रचना खड्का
६. कृष्णप्रसाद शर्मा खनाल
७. शान्तिप्रसाद पौडेल
८. मुनु सिक्ष्देल
९. ईन्द्रमाया गुरुङ
१०. मिना ज्ञवाली
११. बसुन्धरा हुमागाईँ
१२. लक्ष्मण लम्साल
१३. कुसुम कुमार कार्की
१४. पार्वती सिलवाल