काठमाडौं । कर्णाली प्रदेशका तीन नवनियुक्त मन्त्रीको शपथ अघि नै जिम्मेवारी खोसिएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बुधबार प्रदेशसभा सदस्यहरु विन्दमान विष्ट, सीता नेपाली र गोपाल शर्मालाई मन्त्रीमा नियुक्त गरेका थिए ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको आन्तरिक विवाद समाधान नभएको भन्दै आज दिउँसो घ बजे मुख्यमन्त्री शाहीले प्रदेश प्रमुखलाई भेटेर शपथप्रहण समारोह स्थगित गर्न र ३ वटै मन्त्रालयको जिम्मा आफूलाई दिन गरेको आग्रह अनुसार प्रदेश प्रमुखले सूचना जारी गरेसँगै तीनै जना बर्खास्तमा परेका हुन् ।
विष्टलाई आन्तरिक मामिला तथा कानुन, शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
सोही दिन आर्थिक मामिलामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलाई पदबाट राजिनामा गराएर उनीहरुलाई मन्त्रीमा नियुक्त गरेका थिए ।