काठमाडौं । उपप्रधानमन्त्री एवम् नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले मनमोहन अधिकारीले देखाएको बाटोबाट पार्टीका नेता–कार्यकर्ता अघि बढ्नुपर्ने बताएका छन् ।
२२औँ मनमोहन स्मृति दिवसका अवसरमा सोमबार विज्ञप्ति जारी गर्दै पोखरेलले मनमोहन अधिकारीले स्थापित गरेको आदर्श र मूल्य मान्यताबाटै पार्टीका नेता–कार्यकर्ता अघि बढ्नुपर्ने उल्लेख गरे ।
नेपालको विभाजित कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन अधिकारीले महत्वपूर्ण अभिभावकीय भूमिका खेलेको पोखरेलले स्मरण गरेका छन् ।
अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता कम्युनिष्ट पार्टीका हरेक सदस्यका लागि आज पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक रहेको पोखरेलले उल्लेख गरे । “सरल, शालीन र सादगी जीवन नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँले स्थापित गर्नुभएका अत्यन्तै मूल्यवान गुणहरू हुन्,” उप्रधानमन्त्री पोखरेलले लेखेका छन् ।
मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका पोखरेलले पार्टी एकताको पक्षमा एकढिक्का भएर उभिन मनमोहन सबैको प्रेरणाको स्रोत बन्ने पनि उल्लेख गरे । “आजको यस विशेष दिनले नेकपा (एमाले) का सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई एकढिक्का भई पार्टी काममा सक्रिय रहन उर्जा प्रदान गरोस् भन्ने कामना गर्न चाहन्छु,” पोखरेलले लेखेका छन्, “०५१ मा अधिकारी नेतृत्वको एमालेको सरकारमा प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो । उहाँको नेतृत्वको तत्कालिन सरकारको प्रमुख राजनीतिक सल्लाहकारका रुपमा काम गर्दाको त्यो क्षण मेरा लागि पनि सदैव गौरवान्वित छन् ।”
वाम तथा प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष अधिकारीले नेपालको इतिहासकै स्वच्छ र आदर्श प्रधानमन्त्रीका रुपमा ९ महिने सरकारको नेतृत्व गरेका थिए । ०५१ मा प्रधानमन्त्री निर्वाचित भएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिस्ट पार्टी (एमाले) र कम्युनिस्ट आन्दोलनले विशाल रुप लिएको थियो । छोटो समयमा राम्रो काम गरेकाले मनमोहन नेतृत्वको सरकार जनतामाझ लोकप्रिय बनेको थियो ।
अधिकारी नेतृत्वको सरकारका लोकप्रिय कार्यक्रम अहिले पनि जनताले सम्झने गर्छन् । नेपालमा पहिलोपटक मनमोहन नेतृत्वको सरकारले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ७५ वर्ष पूरा भएका वृद्धवृद्धालाई मासिक भत्ताको व्यवस्था गरेको थियो । एमालेले यसलाई निरन्तरता दिँदै आएको छ ।
मनमोहन सरकारले थालेका आफ्नो गाउँ आफैँ बनाऔं, विकासका लागि ‘नौ स’ (साक्षरता, सुलभ, स्वास्थ्य, सिपमूलक तालिम र रोजगारी, सामुदायिक वृक्षारोपण, साना जलविद्युत विकास, साना घरेलु उद्योगहरू) लगायत कार्यक्रम अहिले पनि निक्कै लोकप्रिय छन् ।
जनतामाझ लोकप्रिय अधिकारीको ०५६ वैशाख १३ गते निधन भएको थियो ।