काठमाडौं । जिम्बाब्वेविरुद्धको तेस्रो टी–२० मा पाकिस्तान विजयी भएको छ । जितसँगै पाकिस्तानले ३ खेलको टी–२० सिरिज २–१ले आफ्नो पक्षमा पारेको छ ।
आइतबार भएको तेस्रो खेलमा जिम्बाब्वेलाई २४ रनले पराजित गर्दै सिरिजमा कब्जा जमाएको हो ।
१ सय ६६ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १ सय ४१ रन मात्र बनाउन सक्यो । वेस्ले मधेभरेले ५९, तडिवनाशे मरुमनीले ३५ तथा ब्रेन्डन टेलरले २० रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् ।
पाकिस्तानका हसन अलीले ४, हरिस रौफले २ तथा मोहम्मद हस्नैनले एक विकेट लिए ।
हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा १ सय ६५ रन बनाएको थियो ।
पाकिस्तानका मोहम्मद रिजवानले अविजित ९१, बाबर आजमले ५२ तथा शर्जिल खानले १८ रनको योगदान दिए ।