काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा दुर्घटनामा प्रभावितहरुलाई त्यहाँ सिर्जना हुनेगरी रोजगारीको अवसरमा प्राथमिता दिइने बताएका छन् । शनिबार पुनःनिर्मित धरहराको उद्घाटन गर्दै उनले सो घोषणा गरेका हुन् ।
प्रधानमन्त्री ओलीले दुर्घटनामा परेर धेरैको जीवन गएको बताए । “धरहरा ढलेकोबाट, त्यससँग सम्बन्धित दुर्घटनामा जीवन गुमाएका परिवारहरुलाई यहाँ सिर्जना हुने कामको अवसरहरुमा प्राथमिकताका परिवारका एक जनालाई रोजगारीको अवसर उपलब्ध गराइनेछ,” प्रधानमन्त्री ओलीले भने ।
उनले अब उपरान्त धरहरा नढल्ने बताए । इतिहासको गौरवलाई स्थायी राख्दै बलियो बनाइएको उनको भनाइ थियो । उनले भने, ‘इतिहास झल्कने, आधुनिक टल्कने धरहरा बनाइएको छ ।’
सम्पन्न र दाता राष्ट्रका रुपमा विकास गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले सहयोगको अपेक्षा गरेर बस्ने नभई समृद्ध मुलुकका नागरिक हुनुपर्नेमा जोड दिए ।