काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त चार मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन् ।
राष्ट्रपति कार्यालयमा शुक्रबार ४ मन्त्रीको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री ओलीले उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोप बहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गौरीशंकर चौधरी र सहरी विकासमात्री प्रभु साहलाई सिफारिस गरेका थिए ।
भट्ट ३ फागुन २०७५ मा ओलीको सरकार गठन भएयता निरन्तर मन्त्री छन् । रायमाझी, चौधरी र साह भने प्रतिनिधिसभा विघटनपछि १० पुसमा पुनःगठित मन्त्रिपरिषदमा सदस्य बनेका थिए ।
प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार उनीहरुलाई पुनर्नियुक्ति गरिएको हो ।
पुनर्नियुक्त भएका ४ मन्त्रीहरुलाई नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेको थियो ।