कथित स्पष्टीकरणबाट तर्सिदैनौँ सामना गर्छाैँ : नेपाल

348

कामठाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले नेताहरुलाई सोधिएका स्पष्टीकरणको सामना गर्न तयार रहेको बताएका छन् ।

मंगलबार आफ्नो समूह सम्बद्ध विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफूहरुसँग मागिएको स्पष्टीकरणबाट नतर्सिने बताएका हुन् ।

उनले भने, ‘घुँडा टेक्ने बाटोमा जाने हो ? आत्मसमर्पणको बाटोमा जाने हो ? यो किमार्थ मन्जुर छैन ।’ उनले अघि भने, ‘कथित स्पष्टीकरणबाट तर्सिने वाला छैनौँ, सामना गर्न तयार छौँ।’

पार्टी अध्यक्ष ओलीको चुरिफुरी कुर्सीमा बस्दासम्म मात्र भएको भन्दै उनले सडकमा आएपछि ओली प्रवृत्तिको हावा खुस्किने समेत बताए । अब ७७ जिल्लामा जाने र संगठन बनाउने उनले बताए । तर आफूले पार्टी नफुटाउने भन्दै नेता नेपालले भने, ‘पार्टी फुटाउँछन् भने केपी ओलीले फुटाउँछन् ।’

चैत ७ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार सोमबार एमाले महासचिव ईश्वर पोखरेलले चारैजना नेतालाई स्पष्टीकरण माग गर्दै पत्र पठाएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...