सूर्य थापाले १५ बुँदामा गरे नेपाल समूहका ‘षड्यन्त्र’को भण्डाफोर

441

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवम् नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सानेपा हुने कथित गुटगत भेला प्रचण्डको निर्देशन भएको खुलासा गरेका छन् ।

ओलीको एकलौटी निर्णयप्रति माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले बुधबार र बिहीबार काठामाडौंमा आयोजना गरिने राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिन एमाले वरिष्ठ नेता माधव नेपाल समूहले आज पत्रकार सम्मेलन गर्दैछ ।

उक्त भेला पार्टी सिद्धान्त विपरीत र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा हुन गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले खुलासा गरेका छन् । उक्त भेला गुटगन भएको बताउँदै उनले यसरी पुष्टि गरेका छन् ।

प्रेस सल्लाहकार थापाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीभित्र अघि बढाएको षडयन्त्रको भण्डाफोर गर्दै १५ बुँदे धारणा सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजिनिक गरेका छन् ।

यस्तो छ थापाको १५ बुँदा

१ खासमा प्रचण्डको निर्देशन र होमवर्क बमोजिमको मेला, राम र रमिता हो !

२ यसलाई चैत महिनामा प्रदर्शित बेमौसमी गाइजात्रा पनि भन्न सकिन्छ ।

३ आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूको उक्साहट र षडयन्त्र हो ।

४. यो केवल यसका नेतृत्वकर्ताहरूको कुण्ठा र द्वेय प्रर्दशन मात्रै हो ।

५. पार्टीको सरकार पाँच वर्ष चल्नै नदिने कसम खाएर केही व्यक्तिहरूको नेतृत्वमा भइरहेका जनविरोधी, अनैतिक र विभाजनकारी कृत्यको मञ्चन मात्र हो ।

६. यो ‘विधि र पद्धति’को दुहाई दिँदै गत वैशाख महिनायता जारी नाङ्गो गुटबन्दीको पराकाष्ठा हो, जो प्रचण्डको आड र साठगाँठमा चल्दैआएको विभाजन ने हो भन्ने तथ्य स्पष्ट नै छ । र, अलग समूह बनाएर पुनः प्रचण्ड पथमा सामेल हुन जाने तयारी हो । त्यसकै लागि प्रचण्डले आफ्नो समूहको केन्द्रीय कमिटी बैठक स्थगन गरि पर्खिरहेको यथार्थ जगजाहेर नै छ ।

७. हिजो नेकपामा सहमतिको आधारमा निर्णय गर्ने वैधानिक व्यवस्था हुँदाहुँदै बहुमतको नाममा प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई गरेको चारपटक निस्कासनको अपमानजनक अपराध तथा आज अध्यक्ष मान्नुको विकल्प नै नरहेको असहजता र छटपटीको अनुभूति हो ।

८. नेपाल राष्ट्र, नेपाली जनता, नेपाली कम्युनिस्ट आन्दोलन, स्थिरता, विकास र समृद्धिविरूद्धको घात हो ।

९. पार्टी केन्द्रीय कमिटीको फागुन २८ गतेको निर्णयको अवज्ञा,अनुशासनहीनता र अराजकता हो । कार्की बैक्वेट पार्टीको भए पनि स्वघोषित अध्यक्ष भइछाड्ने पदलोलुपता एवं अभिनय हो ।

१०. पार्टी पद्धति,मूल्य, मान्यता र विधानको बर्खिलाप कार्य हो । फागुन २३ गते यता अर्याल होटलमा जारी गुटगत भेला, बैठक र समानान्तर गतिविधि ढाकछोपको निम्छरो र निरूपाय कोसिस हो । र, चैत २ गते धुम्बाराहीमा भएको छलफलमा अध्यक्षले भेला रोक्न दिनुभएको निर्देशनको ठाडो अवज्ञा हो ।

११.चैत १ गते ११ जना व्यक्तिले पार्टी अध्यक्षविरूद्ध जारी गरेको १९ पृष्ठ लामो पुरानो आरोपपत्रको नयाँ संस्करणका आधारमा नेतृत्वलाई पुनः खुइलाउने, बदनाम गर्ने एवं कार्यकर्ता र जनतामा घृणा फैलाउने र पार्टीलाई संस्थागत प्रक्रियामा सञ्चालन हुन नदिई अनुचित सम्झौताको बन्धक बनाउने कुत्सित प्रयास हो ।

१२. सरकारले गरेका जनक्षीय कामहरूमा पर्दा हालेर जनतामा भ्रम फिजाउने र सिंगो कम्युनिस्ट आन्दोलनको भविष्यमा कालो बादल मडारिने अवस्था सिर्जना गर्ने दुष्प्रयास मात्र हो ।

१३. पार्टीलाई केन्द्रीय कमिटीको निर्णयअनुरूप नयाँ परिवेसमा नयाँ ऊर्जाका साथ सञ्चालन गर्ने पहलकदमीमा चिसोपानी खन्याउने र निराशा पैदा गर्ने लज्जास्पद कार्य हो ।

१४. यो आाम जनता र कार्यकर्ताको आकांक्षा र अभिमतविपरितको क्रियाकलाप हो। यस्तो कार्यमा कोही कसैले आफुलाई सामेल नगरौँ ।

१५. त्यसैले आउनुहोस- विभाजन र बिखण्डनकारी तथा एकताविरोधी हर्कतहरूप्रति सचेत र सावधान हुँदै नेकपा(एमाले)र सूर्य चिन्हको पक्षमा स्पष्ट र एकजुट भएर अघि बढौँ ।

अरू कसैको योजनामा परिचालित व्यक्तिका षड्यन्त्रमूलक र जनविरोधी कोसिसहरूलाई परास्त गरौँ ।

Share This:
सम्बन्धित खबर
Loading...