देश शक्तिशाली बनाउन बाल्यकालदेखि नै स्याहारमा ध्यान दिनुपर्छ : विज्ञ

251

काठमाडौं । कुनै पनि मानिसको वर्तमान अवस्था र स्वभावलाई उसको बाल्यकाल कस्तो वातावारणमा वितेको थियो र उसको लालन–पालन तथा स्याहारसम्भार कसले गरेको थियो भन्ने विषयले निर्धारण गर्ने वक्ताहरुले धारणा राखेका छन् ।

बुधबार राजधानीको संवाद डबलीमा हिमाली समाजले आयोजना गरेको ‘बालबालिकाको लागि परिवार’ विषयक छलफल कार्यक्रममा उनीहरुले देशको भविष्य नै बालबालिकाको भविष्यसँग जोडिएर आउने हुनाले उनीहरुको लालनपालनमा ध्यान पुर्याउन आग्रह गरेका हुन् ।

राजनीतिक विश्लेषक प्राडा.सुरेन्द्र केसीले अहिलेका राजनीतिक बाघडोर सम्हाल्ने नेताहरु अनैतिक र धोकेबाज मनोवृत्तिका हुनुमा उनीहरुको बाल्य अवस्थामा राम्रो संस्कारमा नहुर्कनुको परिणाम पनि केही हदसम्म जिम्मेवार रहेको धारणा व्यक्त गरेका छन् ।

नेपलालाई स्वाधिन र आत्मनिर्भर बनाउन परनिर्भरताबाट आत्मनिर्भर अर्थतन्त्र बनाउन नदिनु पनि उनीहरु दलाल र चाकडीबाच मनोवृत्तिको परिणाम भएको आरोप लागए । बालबालिकाको स्याहार तथा संभार र लालनपालनमा पनि कमाउने ध्ययले विदेशी रिझाउने र ब्यापारीकणको मानसिकताबाट चलाएकोले यो क्षेत्रलाई बदनाम गरेको बताए । बालबालिका जस्तो अति संवेदनशील विषयमा पनि कमाउने र धनी बन्ने सोचले देशलाई झनै पछि धकेल्ने घातक काम भएको केसीको ठम्याई छ । वास्तविक नागरिकहरुबाट जन्मिएका बालबालिकाहरुले भविष्यमा नागरिकता नपाउने र गैर–नागरिकहरुले सजिलै नागरिकता आर्थिक चलखेलमा पाउने गरेको दृष्टान्त दिए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले बच्चा जन्माउने तर लालनपालनमा गैरजिम्मेवार बन्ने परिपाटी नेपाली समाजमा बढ्दै गएको र बालबालिकाको भविष्य र जेष्ठ नागरिकहरुप्रतिको जिम्मेवारीबाट टाढिनु नेपालीहरु मौलिक संस्कारबाट च्युत हुनु दुर्भाग्य भएको बताए ।

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्षसमेत रहेका कार्कीले बालबालिकाको विषयमा मिडिया जगतले उठाउनै पर्ने भएकोले यसलाई व्यापकता दिनुपर्ने धारणा राख्दै भने, “नेपालको संविधानमा बालबालिकाको शिक्षा, दिक्षा, उचित लालनपालन, मनोरञ्जन, पौष्टिक आहारहरुको बारेमा र उनीहरुको सामाजिक सुरक्षाको विषयमा प्रस्टरुपमा उल्लेख गरिएको भए पनि त्यसको कार्यान्वयनमा कति पनि ध्यान नभएकोले मिडियाले दबाब दिनुपर्छ ।”

आधार नेपालका कन्ट्री डाइरेक्टर प्रल्हाद ढकालले नेपालमा अत्याधिक मात्रामा बालबालिकाको ओसारपसार भएको र उनीहरु मानिस होइन, एउटा बस्तुको रुपमा दुरुपयोग भइरहेकोप्रति चिन्ता व्यक्त गरे । नेपालको राजनीतिमा बालबालिका पढाउने लेखाउने नाममा अभिभावकसँग आर्थिक लाभ लिनुका साथै त्यसै मार्फत राजनीतिक भोट बैंक बलियो बनाउने ट्रेनको विकास भएको र त्यसलाई रोक्न सबै लाग्नुपर्ने धारणा पनि राखे ।

हिमाली नवीन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बालबालिकाको अवस्थाबारे आँकडासहितको पावर पोइन्ट प्रस्तुत गर्दै नेपालमा ४ सय ८९ संस्थागत स्याहार(बालगृह)मा ११ हजार ३ सय ५० बालबालिका रहेको र उनीहरुको अवस्था त्यति राम्रो नभएको बताए । आफ्नो संस्थाले देशका ६७ ओटा जिल्लामा पुगेर बालबालिकाको अभिभावकको अवस्थाबारे बुझेको र कैयौंलाई परिवार पुनःमिलन समेत गरिसकेको जानकारी दिए । उनकाअनुसार बालगृह अर्थात् संस्थागत स्याहारमा हुर्केका बालबालिकाहरु भावनात्मक तथा मनोसामाजिकरुपले निकै कमजोर हुने भएकाले समुदायमा आधारित स्याहारमा जोड दिनुपर्ने बताए ।

समाजकी संचार अधिकृत तोया होमा राईले बालबालिकालाई आमाबाबुले स्याहार गर्न नसकेको खण्डमा समुदायमा आधारित नातेदार, संरक्षक परिवार स्याहार र आन्तरिक धर्म पुत्रपुत्रीका रुपमा स्याहार गर्दा उनीहरुको सामाजिक तथा मानसिकरुपमा विकास हुने बताइन ।

परिवर्तनको संवाहक कार्यक्रमका व्यवस्थापक केबी रानाले पछिल्लो समय आफूहरुले परिवार पुनःमिलन कार्यक्रमलाई सहयोग पुग्ने कार्यलाई जोड दिँदै हिमाली नवीन समाजले १ हजार ३४ जना बालबालिकाहरुलाई परिवार पुनर्मिलन गराइसकेको जानकारी दिए । सो अन्तरगत ६७ जिल्लामा जैविक अर्थात् अमाबुबा समक्ष ५१ प्रतिशत, नातागोतामा ३२ प्रतिशत र संरक्षक परिवारमा २.४ प्रतिशत बालबालिकालाई पुनर्मिलन गराएको बताए ।

परिवर्तनको संवाहक कार्यक्रम अधिकृत दीपेन्द्र पाण्डे, परिवार पुनर्मिलन वरिष्ठ अधिकृत तेन्जिङ लामा, मंगल लामा, फुन्जोक लामाले पनि बालाबालिका भविष्यका कर्णधार भएकाले उनिहरुको बारेमा परिवार, समाज र राज्यले विषेश ध्यान दिनु पर्नेमा जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...