काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गरेका छन् ।
उपराष्ट्पति पुनले शुभकामना सन्देशमा भने, ‘विश्वभरका श्रमिक महिलाहरुको महान् उत्सवको दिन १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरबाट सम्पूर्ण नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभारहरु पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भनी कामना गर्दछु ।”
जनसंख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनु पर्दछ । संविधानले प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पत्तिको समान हकलगायतका अधिकार सुनिश्चित गरेको छ ।
“महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव छैन । मुलुकको विकास, आर्थिक समृद्धि र महिलाहरुको हक–अधिकारको लागि संविधान प्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाहरुको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्दछ ।” उपराष्ट्पति पुनले भने, “१११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबाट नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा मिल्ने अपेक्षा लिएको छु ।”