कृषिमन्त्री अर्याल भन्छिन्, ‘पहिलो सलाम किसानलाई’

219

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्‌मा कुमारी अर्यालले किसानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताएकी छन् । गृहजिल्ला स्याङ्जाको गल्याङस्थित सार्वजानिक माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालयको साझेदारीमा सोमबार व्यवसायिक उत्पादन शुभारम्भ गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

विगतमा काम गरिनेखाने वर्गलाई हेलाहोचो गर्ने संस्कार परिर्वतन हुँदै आएको भन्दै उनले तर अहिले ती गलत कुराहरु परिवर्तन हुँदै किसानलाई सम्मान गर्ने संस्कारको विकास हुँदै गएको बताइन् । किसानलाई सम्मान गर्ने संस्कृतिको विकास भएको बताउदै मन्त्री अर्यालले भनिन्, ‘कृषि कर्म गर्नेलाई होच्याउने होइन हामीले सलाम गर्नुपर्छ । हिजोको सामन्तवादी सोँचलाई परिर्वतन गर्नुपर्छ ।’

कृषिकै माध्यमबाट देशलाई समृद्ध बनाउन सकिने भन्दै उनले कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरणका लागी सरकार विशेष कार्यक्रमका साथ अगाडि बढेको बताइन् । काम नगर्नेलाई ज्यू हजुर गर्ने र काम गर्नेलाई हेला गर्ने होच्याउने संस्कार सामान्तवादी संस्कार भएको भन्दै मन्त्री अर्यालले हिजोका ती गलत संस्कार परिर्वतन भएको बताइन् । कृषकलाई व्यवसायिकरणमा आकर्षित गर्न राज्यले विभिन्न कार्यक्रमहरु ल्याउने उनले बताइन् । ‘कृषि मन्त्रालयले कृषि तथा पशुको विकासका लागी विभिन्न अनुदान र सहुलियतका कार्यक्रमहरु ल्याएको छ । कृषकको खेतबारीमै सरकार जोडिनेछ’, मन्त्री अर्यालले भनिन् ।

माटो र हावापनी सुहाउँदो कृषि प्रणालीलाई अबलम्बन गर्नुपर्ने भन्दै उनले कृषिमा प्रविधिको अधिकतम उपयोग गरी कृषि क्रान्ती गर्ने बताइन् । नयाँ सोच र प्रविधिका साथ सरकार अगाडि बढेको भन्दै स्याङ्जा जिल्लामा कृषिको विकासका लागी प्रतिवद्धता व्यक्त गरिन्। ‘एक पालिका एक उत्पादन’का साथ जिल्लालाई कृषिका माध्यमबाट समृद्ध बनाइने समेत उनको भनाइ थियो ।

स्याङ्जामा सुन्तला र कफीको जोन बनाउने कार्य कार्यान्वयन भइरहेको भन्दै अन्य फलफुल तथा तरकारीको जोन बनाइने बताइन् । त्यस क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत मन्त्री अर्यालले १० लाख रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरेकी थिइन् । त्यस्तै छात्राहरुका लागी मन्त्री अर्यालले सेनिटरी प्याड बनाउने मेसिन र पिउने पानीका लागी युरोगार्ड हस्तान्तरण गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...