मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच सम्झौता

210

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेत, नेपाल र चाइना थ्री गोर्जेस विश्वविद्यालय, चीनबीच शैक्षिक सहकार्यका लागि २०७७ माघ १६ गते दुई पक्षीय सम्झौता सम्पन्न भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा. नन्द बहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उपप्राध्यापक तथा सुचना प्रविविविज्ञ पञ्चदेव भट्टले जानकारी दिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न तथा दुई विश्वविद्यालयबीच आपसी समझदारी र शैक्षिक सहकार्य स्थापना गर्नु यस सम्झौताको मुख्य उदेश्य रहेको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सम्झौता पश्चात दुई विश्वविद्यालयबीच विशेषगरी प्राध्यापक, शोधकर्ता, प्रशासनिक कर्मचारी तथा विश्वविद्यालयमा अध्यनरत बिद्यार्थीहरु आदानप्रदान हुनेछ । दुवै विश्वविद्यालयले सामुहिक रुपमा अनुसन्धानसँग सम्बन्धित परियोजनाहरु अगाडि बढाउन सकिने कुरा सम्झौतामा उल्लेख गरिएको छ । त्यसैगरी विभिन्न लेक्चर तथा गोष्ठीहरु आयोजना गरिनेछ भने एक आपसमा विभिन्न शैक्षिक जानकारी तथा समाग्रीहरु आदानप्रदान हुनेछ ।

यस सम्झौताको मर्म पुरा गर्न तथा दुवै देशको कानुन र सम्झौता परिधिमा रहि विश्वविद्यालय अन्तर्गतका संकाय, स्कुल वा संस्थाहरुले एक आपसमा समझदारी गरी विभिन्न परियोजनाहरु सञ्चालन गर्न सक्नेछन ।

दुई विश्वविद्यालयबीच भएको यस सम्झौताको अवधि सम्झौता मितिदेखि पाँच वर्षको रहनेछ भने त्यस पश्चात स्वतः नवीकरण हुनेछ साथै आपसी समझदारी र छलफल पश्चात लिखित रुपमा सम्झौता संसोधन गर्न सकिने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ ।

चाइना थ्री गोर्जेस विश्वविद्यालय हाइड्रोइलेक्ट्रिक इञ्जिनियरिङ्ग र इलेक्ट्रिकल इञ्जिनियरिङ्ग विषयका लागि प्रख्यात छ भने स्वास्थ्य, सञ्चार तथा कम्प्युटर प्रविधि, स्पोर्ट्स, अर्थशास्त्र, व्यवस्थापन लगायतका विषयहरु पढाइ हुने चीनकै एक अग्रिणी तथा प्रख्यात विश्वविद्यालय हो ।

यस सहकार्य पश्चात मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापक, शोधकर्ता, कर्मचारी तथा अध्यनरत विद्यार्थीहरुले प्रत्यक्ष शैक्षिक लाभ लिनसक्ने विश्वास गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...