हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

162

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मंसिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा स्वाव सङ्कलन गरी १२ जना सुरक्षाकर्मीको पिसिआर परीक्षण गरिएको थियो ।

मंसिर १९ गते स्वाव सङ्कलन गरी पिसिआर परीक्षणका लागि सुर्खेत पठाइएको मध्ये ११ जनामा कोरोना देखिएको जिल्ला अस्पताल हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । यो सँगै हुम्लामा कोरोना संक्रमितको कुल सङ्ख्या ७८ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ११ रहेको छ भने ६७ जना निको भइसकेका छन् ।

कोरोनामुक्त घोषणा गरिएको हुम्लामा केही दिन अगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउँपालिकाको केन्द्र यालवाङमा ५६ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सञ्चालन गरिएका विद्यालहरु पुनः बन्द गरिएको छ । स्थानीय तहले विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिरहेका बेला सदरमुकाम सिमकोटमा संक्रमणको जोखिम बढेकाले विद्यालय सञ्चालनमा अन्योल छाएको छ ।

आइतबार संक्रमण पुष्टि भएका ११ जना सिमकोट विमानस्थलमा रहेको सुरक्षा गार्ड क्वार्टरको होमआइसोलेसनमा बसेको जिल्ला अस्पताल हुम्लाका वरिष्ठ अनमी सरिता बोहराले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...