सेभ अ चाइल्डस् फ्युचरको परियोजनाः आर्ट एण्ड क्राफ्टको १ महिने अध्यापन कार्यक्रम सम्पन्न

394

काठमाडौं । संघीय राजधानीको तिनकुनेस्थित बानेश्वर बहुमुखी क्याम्पसमा “सेभ अ चाइल्डस् फ्युचर”द्वारा सञ्चालित एक महिने आर्ट एण्ड क्राफ्टको अध्यापन कार्यक्रम सम्पन्न भएको छ ।

गत कार्तिक १५ गतेदेखि “सेभ अ चाइल्डस् फ्युचर” नामक परियोजनाद्वारा आयोजित उक्त कार्यक्रममा तिनकुने वरपरकै सुकुम्बासी बस्तीका २५ जना विद्यार्थीहरु सहभागी थिए । उक्त परियोजनाकी संयोजक सञ्जु ढकालका अनुसार कोभिड-१९ लाई मध्यनजर गर्दै विभिन्न सुरक्षाका साधनहरु प्रयोग गरेर कक्षा सञ्चालन गरिएको थियो ।

संयोजक ढकाल भन्छिन्, “हामीले लकडाउनका बेला खाली बसेका सुकुम्बासी बस्तीका बालबालिकाहरुका लागि उपयोग होस् भन्ने उद्देश्यले यो परियोजना ल्याएका हौँ ।” उक्त परियोजनाको सहयोगमा बालबालिकाहरु धेरै सामग्री बनाउन दक्ष भएका छन् भने नयाँ कुराहरु सिक्न पाउँदा दंग देखिन्छन् ।

कार्यक्रममा सहभागी विद्यार्थी कौशिला तोलाङ्गेले आफूले पहिलो पटक यसरी पेपरबाट विभिन्न कुरा बनाउन सिकेको बताइन् । काम नलाग्ने भनेर फालिएको चुरोटको बट्टाबाट फोटो फ्रेम र प्लास्टिकको झोलबाट फूल बन्छ भनेर कल्पना समेत नगरेको बताउँदै उनले भनिन्, “यहाँबाट सिकेपछि मैले अहिले घरमा प्लास्टिक झोल जम्मा गरेर राख्ने गरेकी छु, फूल बनाउनका लागि ।”

उक्त कार्यक्रमका ट्रेनरको रुपमा गौतम श्रेष्ठ रहेका थिए । उनले विद्यार्थीहरुलाई दैनिक जीवनमा उपयोग हुने खालका पेपर फ्लावर, स्टेस्नरी ब्याग, ओरीगामी फ्लावरस्, काटुनको घर, न्युजपेपर फ्रेम, न्युजपेपर बल र पेपरका अन्य खेलौना लगायतका सामग्री बनाउन सहयोग गरेको परियोजनाका समूह सदस्य सुरक्षा पोखरेलले जानकारी दिइन् ।

यो परियोजना हाल तिनकुनेस्थित बानेश्वर क्याम्पसको एक हलमा भइरहेको छ । हामीसँग अझैपनि धेरै कार्यक्रमहरु बाँकी रहेको पोखरेलले बताइन् । ८ जना युवा समूह मिलेर यो परियोजना निर्माण गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...