नगरप्रमुख र दुई विदेशी नागरिकसहित १८ जनामा कोरोना

133

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत तीन स्वास्थ्यकर्मी, नेपाली सेनाका तीन, नेपाल प्रहरीका एक, दुईजना श्रीलङ्काली पर्यटक र दशरथचन्द नगरपालिकाका आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए ।

गोठलापानीको एक होटेलमा रहेका दुई पर्यटकको जाँच गर्दा पोजेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । शनिबार एकैदिन १८ जनामा कोरोना पुष्टि भएसँगै बैतडीमा संक्रमितको सङ्ख्या ५ सय ५१ पुगेको छ । संक्रमित मध्ये ५५ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ३६ जना रहेका छन् ।

यस्तै डिलाशैनी गाउँपालिकामा १०, पुर्चौंडी नगरपालिकामा चार, पाटन नगरपालिकामा तीन र सुर्नया तथा पञ्चेश्वर गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाको जोखिम बढेको भन्दै दशरथचन्द नगरपालिका क्षेत्रलाई आजदेखि लकडाउन गरिएको छ । नगरकार्यपालिकाको बैठकले मंसिर २२ गतेसम्म लकडाउन घोषणा गरेको हो । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका कोरोनाको ‘हटस्पट’ बन्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् ।

नगरपालिकामा ३६ जना सक्रिय संक्रमित रहेका र एकैदिन १८ जनामा कोरोना पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले जानकारी दिनुभयो । चिसोको समयमा कोरोनाको संक्रमण झन् फैलिने भएकाले स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...