त्रिहत्तर वर्षकाे उमेरमा माया गुरुङले पाइन नागरिकता

170

दमौली । तनहुँको देवघाट गाउँपालिका–३ निवासी ७३ वर्षीया माया गुरुङले ७३ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्य र देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले शनिबार घरमै पुगेर उनलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।

परिवारका कोही पनि सदस्य नभएका कारण एक्लै बस्दै आएकी उनले नागरिकता नपाएको जानकारी पाएपछि आवश्यक कागजात जुटाएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

देवघाट गाउँपालिकाका अध्यक्ष थापाले गाउँपालिकाले आवश्यक कागजातसहित प्रशासनमा सिफारिस गरेपछि नागरिकता प्रदान गरिएको बताए । नागरिकताको प्रमाणपत्र नहुँदा गुरुङले हालसम्म ज्येष्ठ नागरिक सुरक्षा भत्ता प्राप्त गर्न सकेकी थिइनन् । गाउँपालिका अध्यक्ष थापाले अब ज्येष्ठ नागरिक सुरक्षा भत्ताका लागि आवश्यक प्रक्रिया सुरु गरिने जानकारी दिए ।

नागरिकताको प्रमाणपत्रसँगै गुरुङलाई चार÷पाँच महिनाका लागि पुग्ने खाद्यान्न सामग्री, भाडावर्तन र न्यानो कपडासमेत उपलब्ध गराइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...