मेचीनगरमा भेटियो ‘हरित परेवा’

173

झापा । चरा खोजकर्ता देवेन्द्र खरेलले मेचीनगरमा ‘हरित परेवा’ प्रजातिको चरा फेला पारेका छन् । वैज्ञानिक नाम ‘डुकुला एनिया’ र अंग्रेजी नाम ‘ग्रिन इम्पेरियल पिजन’ भएको उक्त चरा मेचीनगर नगरपालिका–७ को सतिघट्टामा सिमलको रुखमा भेटिएको उनले जानकारी दिए । उनले नेपालमै पहिलोपल्ट सो प्रजातिको चरा भेटिएको दाबी समेत गरे ।

पक्षी संरक्षण संघ र चराहरुको बारेमा पुस्तक लेखक डा हेमसागर बरालले उक्त चरा नेपालमा पहिलोपल्ट भेटिएको पुष्टि गरिसकेका छन् । “मैले यही मंसिर ९ गते बिहान ८ः३० बजेतिर चराहरुको खोजी गर्दै जाँदा सिमलको रुखमा चारवटा अनौठा परेवाजस्ता चरा देखेँ”, खरेलले भने, “फोटो खिचेर पक्षी संरक्षण संघ र डा बराललाई पठाएँ, त्यहाँबाट यो पक्षी हरित परेवा रहेको र पहिलोपल्ट भेटिएको पुष्टि गर्नुभयो ।”

चराहरुको खोजी र संरक्षणमा विगत पाँच वर्षदेखि लागिरहेका उनी मेचीनगर–६ निवासी हुन् । उनले झापा, इलाम, सुनसरी, चितवनलगायतका स्थानमा डुलेर पक्षीको तस्वीर खिच्ने र तिनको संरक्षणका लागि जनचेतना जगाउने काम गर्दै आएका छन् ।

नेपालमा ८८६ प्रजातिका चरा भएको आधिकारिक तथ्याङ्क छ । हरित परेवालाई अहिलेसम्म पाइने चराको सूचीमा राखिएको छैन । अब चराहरुको प्रजाति ८ सय ८७ पुगेको मान्नुपर्ने चरा खोजकर्ता खरेलले जानकारी दिए । घरेलु परेवाभन्दा १० सेन्टिमिटर लामो र दुवै पखेटामा चम्किलो हरियो रङ हुने भएको हुँदा सो प्रजातिको परेवा ढुकुरभन्दा दोब्बर र घरेलु परेवाभन्दा निकै ठूलो आकारको हुन्छ ।

हरित परेवा पाइनु चरा संरक्षण र चरा पर्यटनका दृष्टिले ठूलो उपलब्धि मानिएको छ । मेचीनगरको मेची र नन्दा नदीको किनारका दलदले क्षेत्र र इलामसँगको सिमानामा रहेको चुरे जङ्गल क्षेत्रमा ३ सय प्रजातिका चराको बासस्थान भएको बताइन्छ । उनले ती चरालाई संरक्षण गरी पर्यटक आकर्षित गर्न सकिनेतर्फ राज्यको ध्यान जान आवश्यक रहेका बताए ।

Share This:
सम्बन्धित खबर
Loading...