सङ्खुवासभाकाे ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा सुरु

223

खाँदबारी । अरुणपारिको दुर्गम गाउँपालिका भनेर चिनिने सिलिचोङको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा सुरु भएको छ ।

सो ठाउँ भौगोलिक रूपमा विकट र अहिलेसम्म सदरमुकाम खाँदबारीदेखि सिधा यातायातको सुविधाले छोएको छैन । एक जना एमबिबिएस डाक्टरको दरबन्दी रहेको भए पनि प्राथमिक स्वास्थ्य केन्द्रमा भौगोलिक कारणले कर्मचारी तथा स्वास्थ्यकर्मी नै बस्न मान्दैनन् । अधिकांश समय अहेव र अनमीले अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ ।

पाँच वडा रहेको गाउँपालिकामा एक महिनाको अवधिमा २ सयभन्दा बढी गर्भवतीले भिडियो एक्सरे सेवा लिइसकेका छन् । एक गैरसरकारी संस्थाले पाँच लाख बराबरको युएसजी मेसिन र २१ दिने तालीम सहयोग गरेपछि ताम्कुको उक्त अस्पतालमा सेवा सञ्चालन भएको हो ।

झापाको आम्दा अस्पतालमा २१ दिने तालीम लिएर फर्किएकी अनमी इन्द्रकुमारी राईले गाउँमा नै यस्तो सेवा प्रवाह गर्न थालेकी हुन् । गाउँमा नै आएर सेवा गर्न पाएकोमा खुसी लागेको अनमी राईले बताइन् ।

यो सेवामार्फत आमा र बच्चाको मृत्युदरमा समेत कम हुने गाउँपालिकाले विश्वास लिएको छ । दुई दिनसम्म पैदल यात्रा र धेरै खर्च गरेर सदरमुकाम खाँदबारी गएर भिडियो एक्सरे गरेर बच्चाको अवस्था बारे जानकारी लिनुपर्ने बाध्यता हटेको स्थानीयको भनाइ छ । गाउँपालिकाको प्रत्येक वडाको स्वास्थ्य संस्थामा गएर प्रत्येक दुई–दुई महिनामा नियमित शिविर सञ्चालन गरिने सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र कुलुङले बताए । रासस

Share This:
सम्बन्धित खबर
Loading...