‘कोरोना संक्रमितलाई विभेद नगरौँ ’

151

महेन्द्रनगर । कोरोना संक्रमणले यहाँ एकखालको विभेद निम्त्याएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बिरामीले सामाजिक विभेदको शिकार बन्नुपरेको घटना बाहिरिन थालेका छन् । स्वास्थ्य सतर्कता र भौतिक दूरी कायम गर्ने नाउँमा संक्रमितलाई एक्लोपन महसुस गराउने तथा सामाजिकरूप मै बहिस्कृत गर्ने खालका व्यवहारसमेत भोग्नुपरेको कोरोना जितेकाको दुखेसो छ ।

महेन्द्रनगरस्थित पाण्डेय किराना पसलका सञ्चालक हरिप्रसाद पाण्डेय करिब डेढ महिनाअघि कोरोना संक्रमित भए । व्यापारमा खटिरहने उनलाई लक्षणबिनाको कोरोना पुष्टि भएको थियो । उनी रोग निको भएको डेढ महिना बितिसक्दा पनि व्यापार पुरानो अवस्था फर्किन नसकेको अनुभव सुनाए ।

“चार दिन अस्पताल बसाइपछि १४ दिन होमआइसोलेसन बसेर कोरोना जितियो”, उनले भने, “निको भएर आउँदा मानिस बोल्नै डराउने, समाजमा के–के न बिगारेको जस्तो व्यवहार पाएँ ।” दाजुभाइ नै किराना व्यापारमा लागेका उनीहरुले संक्रमण देखिएको दुई दिन पसल नै बन्द गर्नुपरेको बताउँछन् ।

“दाइलाई कोरोना नेगेटिभ देखिएपछि मात्रै ग्राहकहरु आउन थाले”, पाण्डेयले भने, “त्यो बेला झण्डै ९५ प्रतिशत ग्राहक पसलमा आउनै छाडेका थिए ।” उनले आफूलाई संक्रमण हुँदा व्यापारमा समेत नोक्सानी व्यहोर्नुपरेको बताए । “कोरोना उच्च मनोबलले जितिन्छ त भनेँ तर यहाँ ढाडसभन्दा तिस्कृतजस्तो अनुभव भयो”, उनले भने, “अहिले भने विभेद मत्थर हुँदै गएको छ ।”

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले संक्रमितलाई विभेद र दुर्व्यवहार समाजमा भइरहेको गुनासो आउने गरेको बताए । “संक्रमित हुँदा तिनका परिवारले नियमितरूपमा खरिद गर्ने गरेको दूधसमेत नपाएका घटना पनि सुनिए ।” जोशीले भने, “कोभिडको सुरुवातदेखि नै विभेद सुरु भएको थियो ।”

उनले निर्देशनालयका लिखित उजुरी नआएपछि गुनासाहरु आउने गरेको बताए । “संक्रमण पुष्टि भएपछि स्वयं स्वास्थ्यकर्मीले पनि विभेद सामना गर्नुपरेका धेरै घटना छन्”, उनले भने, “सामाजिक दूरी कायम गर्ने कुरो छुट्टै हो, तर विभेद गर्नु राम्रो होइन ।”

सुदूरपश्चिममा १० हजारभन्दा बढी संक्रमित रहे पनि आठ हजार निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ । त्यसैगरी महेन्द्रनगरका पत्रकार सुरेश धामी कोरोना संक्रमणबारे समाजमा अझै सचेतनाका कार्यक्रम लागू पर्नुपर्ने बताउँछन् ।

कोरोना संक्रमण पुष्टि भएपछि १८ दिन धनगढीस्थित कोरोना अस्पताल बसेर निको भएर फर्किएका उनले संक्रमण निको भइसकेपछि पनि एकखालको त्रास रहेको जानकारी दिए । “संक्रमण निको भइसकेको व्यक्तिसित दूरी कायम गर्ने कुराबारे पनि स्पष्ट जानकारी भएन”, उनले भने, “कोरोनाका बारेमा गलत अपवाह फैलाउनु ठिक होइन ।” रासस

Share This:
सम्बन्धित खबर
Loading...