शुक्लागण्डकीका ६६७ कृषकलाई आलुको बीउ वितरण

255

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ले वडाका ६ सय ६७ जना कृषकलाई आलुको बीउ प्रदान गरेको छ । राष्ट्रिय आलु तथा मसलाबाली विकास कार्यक्रमअन्तर्गत वडाले ३२ हजार किलो आलुको बीउ वितरण गरेको हो । निलो आलु ११ हजार ५ सय किलो, जनदेव (रातो आलु) १८ हजार ५ सय किलो र पिभिएस आलु दुई हजार २ सय दाना वितरण गरिएको कृषि शाखाका प्राविधिक भरत जैसीले बताए ।

उक्त वडामा मात्रै चार लाख ५० हजार केजी बराबरको आलु उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए । कृषकलाई ५० प्रतिशत अनुदानमा उक्त आलुको बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ । बिक्रीको समस्या नरहने भएकाले आफ्नै वडामा नै खपत गरिने योजना छ ।

“खेत बाँझो नराखौँ’ भन्ने अभियान नै वडाले सञ्चालन गरेको छ । हिउँदमा धान काटेपछि अधिकांश खेत बाँझै राख्ने गरिएकाले अभियान चलाइएको वडाले जनाएको छ । बाँझो जमिनमा आलुलगायत तरकारी तथा तोरी खेती गर्न वडाले कृषकलाई प्रोत्साहन गरेको छ ।

हाल खेत बाँझो नराख्न र आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए । वडाले खरिद गरी ल्याएको माटो परीक्षण मेसिनबाट उक्त क्षेत्रको माटो परीक्षण गर्दा आलु खेतीको लागि उपयुक्त देखिएकोले कृषकलाई अनुदानमा वितरण गरिएको उनले बताए ।

कृषकलाई ५ देखि ६ सय किलोसम्म आवश्यकताको आधारमा आलुको बीउ उपलब्ध गराएर प्रदान गरिएको हो । उक्त वडा आलु खेतीको लागि प्रख्यात मानिँदै आइएको छ । वडामा खपत नभएको खण्डमा वडाले बजार व्यवस्थापन गर्ने र निर्माण गर्न लागेको चिस्यान केन्द्रमा भण्डारणको व्यवस्था गरिने छ । करिब रु तीन करोडको लागतमा सोही वडाको तालिममा चिस्यान केन्द्र निर्माण गर्न प्रक्रिया अघि बढाइ सकिएको छ ।

कोभिड–१९ को संक्रमण बढी रहेकाले कृषि नै आम्दानीको लागि भरपर्दो माध्यम भएकाले ठाउँ सुहाउँदो खेती गरेर जग्गा बाँझो नराख्ने कार्यलाई अभियान नै रुपमा सञ्चालन गर्न लागिएको सो वडा कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...