वालुङ समुदायले मनाउँदै फुटुक पर्व

313

फुङ्लिङ । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–७ हिमाली बस्ती ओलाङचुङगोलामा वालुङ समुदायले मात्र मनाइँदै आएको फुटुक पर्व यो वर्षसमेत धुमधामका साथ मनाउन थालेका छन् । परापूर्वकालदेखि ताप्लेजुङको ओलाङचुङगोलामा मात्र वालुङ समुदायले मनाइँदै आएको पर्व यो वर्षमा विदेशी पाहुना आउन सकेन । कृष्ण पक्षको द्वितीयादेखि सुरु हुने पर्व औँसीका दिन सकिने गर्छ । पर्वमा नजिकैका बस्ती याङ्मा, घुन्सालगायत स्थानमा मानिसहरू जम्मा हुने गरेका छन् । एक दिन हिँडेर लुङथुङ, लेलेप, सेकाथुम साथै अन्य गाउँबाट पर्व मनाउन ओलाङचुङगोला पुगेको प्रेम शेर्पाले जानकारी दिए ।

पर्वको अवधिभर हरेक दिन मध्यरातदेखि लामाले पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरेका छन् । पछिल्ला चार दिनलाई मुख्य पर्वका रूपमा मनाउने गरिन्छ । साथै आगोमा घ्यू र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुनेछ । यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने वालुङ जातिहरुको विश्वास रहेको छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य देखाउँछन् ।

यस्तै, लामाले देवता र राक्षसको मुखुन्डो लगाएर देवता र राक्षसबीचको युद्ध अभिनय गरी अधर्म गर्नेको पराजय कस्तो हुन्छ भनेर पनि देखाउने गरेका छन् । लामाको नृत्य हेर्न साथै भगवानको आशीर्वाद लिनका लागि स्थानीयवासी साथै बाहिरबाट जाने मानिसले गुम्बा नजिकै पाल टाँगेर बस्छन् । गाउँलेले रकम जुटाएर मनाइँदै आएको यो पर्व अहिलेसम्म कुनै वर्ष रोकिएको छैन । फुटुकमा नयाँ कपडा फेर्ने, मीठोमसिनो बनाएर खाने प्रचलन छ । अघिल्ला वर्षमा फुटुक पर्वका समयमा सीमावर्ती चीनको तिब्बतदेखि भारतको दार्जिलिङ, सिक्किमलगायत ठाउँबाट समेत मानिस आउने गरेको तर कोरोनाका कारणले यो वर्ष भने आउन सकेन ।

ओलाङ्चुङगोलामा ४ सय वर्ष पुरानो ऐतिहासिक तथा पुरातात्विक दिकिछ्योलिङ गुम्बा रहेको छ । निकै पुरानो गुम्बा रहेकाले पनि फुटुक पर्वलाई वर्षेनी विशेषरूपमा मनाइँदै आएको हो । चीन र नेपालको सिमानाका नजिकै रहेको ओलाङचुङगोला फत्ताङलुङ गाउँपालिका–७ मा पर्छ ।

ऐतिहासिक महत्व भएको तथा नेपालकै ओलाङ्चुङगोलामा मात्र यो वर्ष मनाउने भएकाले फुटुक पर्वलाई संरक्षण र प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटन विकास र प्रवर्द्धन गर्नका लागि फक्ताङलिङ गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष सरोज लिम्बूले बताए । यस गाउँमा ५६ घरधुरी रहेका छन् भने नजीकैको बस्ती याङ्मामा ११ घरपरिवार छन् । यो गाउँ सदरमुकामबाट सवारी साधनमा र हिँडेर गरी दुई दिनको समयमा पुगिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...