- मोहन पौडेल
परासी । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरिएको बन्दाबन्दीका कारण तराईका कोहार जाति नराम्ररी प्रभावित भएका छन् ।
माटाका भाँडा बनाउने पुर्ख्यौली पेशालाई निरन्तरता दिँदै आएका उनीहरुको भाँडा बिक्री नभएपछि जीविकोपार्जनमै समस्या भएको हो । भाँडा बनाएर बिक्री गर्न नपाउँदा उनीहरुको आम्दानी नै ठप्प भएको थियो । प्लाष्टिकका भाँडाको प्रयोग हुन थालेपछि माटाका भाँडाको बिक्रीमा कमी आएको बेला कोरोना महामारीले झनै सङ्कट उत्पन्न गराएको उनीहरु बताउँछन् ।
तिहार नजिकिएसँगै माटाका भाँडा बिक्री हुने भन्दै अहिले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–५ गेरमाका कोहार समुदाय माटाका भाँडाकुँडा बनाउन व्यस्त छन् । सात÷आठ महीनासम्म बिक्री गर्न नपाएपनि तिहार र छठ पर्वमा भाँडा बिक्री हुनेमा आशावादी रहेको ३० वर्षदेखि माटाको भाँडा बनाउँदै आउनुभएका गेरमाका राजकुमार कोहारले बताए ।
तिहार, छठ, विवाह, व्रतबन्धलगायत पर्व तथा सांस्कृतिक, धार्मिक कार्यमा माटाका भाँडाको प्रयोग हुँदै आएको भएपनि पछिल्लो पटक प्लाष्टिकका भाँडाको प्रयोग बढेपछि आफूहरुको रोजीरोटीमै समस्या भएको उनले बताए । प्लाष्टिक भाँडा र विजुलीबाट चल्ने झिलीमिली बत्तिको प्रयोगले माटाका भाँडा बिक्री हुन छोडेपछि यो समुदाय समस्यामा परेको हो ।
सरकारले प्लाष्टिकका भाँडाको सट्टा माटाको भाँडालाई प्रोत्साहन गर्ने नीति ल्याउनपर्ने माग कोहार समुदायको छ । गेरमाको कोहार बस्तीका २५ वटै घरले परम्परागतदेखि नै माटाको भाँडा बनाउने पेशालाई संरक्षण गर्दै आएका छन् । “प्लाष्टिकका भाँडाले हाम्रो पेशा नै धरापमा पर्यो, सरकारले माटाको भाँडा प्रयोग गर्ने नीति ल्याउनुपर्छ, त्यसो गर्दा हाम्रो माटाको भाँडाको बिक्री बढ्ने र पेशा पनि सुरक्षित हुन्छ”, उनले भने । अहिले माटाको भाँडा बनाउने नयाँ नयाँ प्रविधि आएपनि आर्थिक अवस्था सुध्रन नसकेकाले घण्टौ लगाएर पूरानै प्रविधिबाट भाँडा बनाउदैँ आएको राजकुमारले बताए ।
विगतमा विभिन्न उत्सव, चाडपर्व, विवाह लगायतमा प्रयोग हुने माटाका भाँडा पछिल्लो पटक पूजापाठ तथा तिहार र छठ पर्वमा मात्र सीमित हुन पुगेको छ । युवा पुस्ताको यस पेशामा आकर्षण नहुँदा अहिले पनि बुढापाकाले नै माटाको भाँडा बनाउने कार्यमा संलग्न देखिन्छन् । माटोको भाँडाको बिक्री घटेको चिन्तासँगै यो समुदायलाई कच्चापदार्थको पनि अभाव खड्किएको छ । जङ्गल टाढा हुँदा दाउराको अभाव छ भने भाँडा बनाउन प्रयोग हुने माटो नजिकको पोखरी, तलाउबाट ल्याउने गरेकोमा पछिल्लो समय माछापालन लगायतका लागि ठेक्कामा जान थालेपछि माटो पाउन पनि मुस्किल भइरहेको स्थानीयवासी वृजलाल प्रजापतिले बताए । “कच्चा पदार्थ किन्नका लागि महङ्गो मूल्य तिर्नुपरेको छ”, उनले भने, “दाउरा, माटो पाउन मुस्किल भइसक्यो, भाँडा बनाएपनि बिक्री घट्यो, कहिलेकाँही पूजापाठमा मात्र बिक्री हुन्छ, त्यसैले हामी युवाले यो पेशालाई अगाडि बढाउन सकेका छैनौँ”
यहाँ बनाइने माटाका भाँडाको मूख्य बजार सदरमुकाम परासीसहित सुनवल, बर्दघाट, भूमही र रुपन्देही हो । तर कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लामो समयसम्म भएको बन्दाबन्दीका कारण माटाको भाँडा बनाउन र बिक्री गर्न नपाएको ७० वर्षीय धनमति कोहारको गुनासो छ । “जन्मेदेखि नै यही पेशा गर्दै आइयो, हाम्रो त खेतीपाती पनि छैन, मुख्य पेशा नै यही हो, बल्ल बल्ल घर खर्च चलाइरहेका छौँ, भाँडा विक्री हुन छाडिसक्यो, कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लागिरहन्छ”, काँचो माटो मुछ्दै उनले भने । प्लाष्टिकका भाँडासँग प्रतिस्पर्धा गर्न नसक्दा आधा मूल्य घटाएर भएपनि बेच्नुपरेको ५० वर्षदेखि यो पेशालाई निरन्तरता दिदैँ आएका अर्का स्थानीयवासी दरिया कोहारको भनाइ छ । उनले भने, “मुलुकमा भएको बन्दाबन्दीका कारण हामीले भाँडा नै बेच्न पाएनौँ, अब दीपावलीमा केही बिक्री हुन्छ की भन्ने आश छ ।”
माटोका भाँडा बिक्री घटेपछि चाडपर्व कसरी मान्ने भन्ने चिन्ता पनि यो समुदायमा देखिएको छ । कच्चा पदार्थको अभाव, बिक्री वितरणमा कमी, युवापुस्ताको आकर्षण नहुनु जस्ता कारणले यो पेशाबाट पलायन हुने क्रम बढ्न थालेको भन्दै पाका पुस्ता चिन्तित छन् । जिल्लाका विभिन्न स्थानमा माटाका भाँडा बनाउने गरिएकोमा अहिले सीमित ठाउँमा मात्र यो पेशालाई निरन्तरता दिइएको छ । अहिले पनि कतिपय संस्कारमा माटाकै भाँडाको प्रयोग गरिने भएकाले आफूहरु संरक्षण गर्दै आएको कुस्मावती कोहारको भनाइ छ ।
तराईका कोहार समुदायमा माटोका कलश, गमला, भुड्की, दीयो, गाग्री दियोलगायत भाँडा बनाउने पुर्ख्यौली पेशा पुस्तौदेखि हस्तान्तरण हुँदै आएपनि पछिल्लो पटक युवामा आकर्षण नदेखिँदा यो पेशालाई कसरी निरन्तरता दिने भन्ने चिन्ता देखिएको छ । यो पेशा लोप हुन नदिन स्थानीयदेखि संघीय सरकारले बेलैमा ठोस अभियान र नीति ल्याएर कार्यान्वयन गर्नुपर्नेमा उनीहरुको जोड छ ।
तिहारको समयमा माटाका पालाको व्यापार धेरै हुने गरेको छ । तर, यसपटक कोभिड–१९ का कारण माग घटेको छ । माटाका भाँडाको माग घटेको भन्दा पनि माटो नपाउने समस्या ठूलो भएको उनीहरुको भनाइ छ । कोहार समुदायले अँगाल्दै आएको यो पेशा निकै पुरानो हो । त्यसैले यो पेशालाई बचाइराख्नुपर्ने देखिन्छ । तर, परम्परागत पेशालाई बचाउनका लागि आफूहरूले भन्दा सरकारले नै पहल गर्नुपर्ने माग धनमति कोहारको छ । रासस