परीक्षण सफलपछि खोप आयातका लागि अध्यादेश ल्याइन्छ : मन्त्री ढकाल

278

मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ खोप परीक्षण सफल हुनसाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिए । उनले कोरोना संक्रमितको उपचारमा सघाउन सरकारले भौतिक संरचना तयारीलाई पनि ध्यान दिएको जनाए ।

प्रदेश नम्बर १ को सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को बिहीबार अनुगमनका क्रममा मन्त्री ढकालले कोरोना संक्रमितको उपचारका लागि एचडियू र अक्सिजनसहितको एक सय शय्याको नागरिक सेन्टरको निर्माण कार्य गरिएकोमा प्रशंसा पनि गरे । उनले उपचारका लागि अक्सिजन, आइसियू र भेन्टिलेटरको आवश्यकता देखिएकाले त्यसलाई प्राथमिकता राखिएको बताए ।

मन्त्री ढकालले सरकारले सुविधासम्पन्न तीन हजार ५ सय शय्या थप गर्ने तयारी गरेको जानकारी दिँदै दुई हजार काठमाडौं उपत्यका र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने बताए ।

प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र सेन्टरका संयोजक पवन सारडालगायतले प्रदेश सरकारको रु २ करोड, निजी क्षेत्रको रु १ करोड ५० लाख र महानगरपालिकाको रु २५ लाखको लागतमा निर्माण कार्य भइरहेको जानकारी दिए । मन्त्री ढकालले आजै कोशी अस्पताल विराटनगरको पनि अनुगमन गरेका थिए ।

स्वास्थ्योपचारका लागि टेलिमेडिसिन
प्रदेश नम्बर १ र भारतीय सीमावर्ती क्षेत्रका जनतालाई विराटनगर रहेको अस्पतालमा सहज स्वास्थ्य सेवा उपलब्ध गराउन क्यूरा हेल्थ एप्लिकेसनमार्फत आजदेखि टेलिमेडिसिन सेवा सुरु गरिएको छ ।

आधुनिक प्रविधिको प्रयोग गरी क्यूरा हेल्थको मोबाइल एप्लिकेसनमार्फत स्वास्थ्यसम्बन्धी सम्पूर्ण कार्य गर्न सकिने हेल्थका सञ्चालक आयुस भगतले जानकारी दिए । क्युरा हेल्थको प्रयोग गरी आफूले खोजेको अस्पताल, चिकित्सक, समय र शुल्क आदिबारे घरमै बसेर तय गर्न सकिने छ ।

उक्त सेवा अहिले विराटनगरस्थित विराट अस्पताल, लाइफगार्ड अस्पताल र श्री राम डेन्टल क्लिनिकसँग सहकार्य गरी सुरु गरिएको तथा आगामी दिनमा सरकारी लगायत अन्य थप अस्पतालसँग आवद्ध हुने जनाइएको छ ।  रासस

Share This:
सम्बन्धित खबर
Loading...