मोरङमा पछिल्लाे १२ घन्टामा कोरोना संक्रमणबाट चार महिलासहित पाँचको मृत्यु

184

मोरङ । मोरङमा पछिल्लो १२ घन्टाको अवधिमा कोरोना संक्रमणबाट विभिन्न अस्पताल र होम आइसोलेसनमा गरी पाँच जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा तीन जना, मोरङको बुढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा एक र मोरङको उर्लाबारीस्थित होम आइसोलसनमा एक जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु हुनेमा चार महिलासहित पाँच रहेका छन् ।

नोबेल शिक्षण अस्पतालमा झापाको गौरादह–२ की ४९ वर्षीया संक्रमित महिलाको बिहीबार मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । मृतकलाई यही कात्तिक ४ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

त्यस्तै सोही अस्पतालमा सुनसरी इटहरी–३ की ४० वर्षीया महिलाको बिहीबार मृत्यु भएको छ । मृतकलाई यही कात्तिक २६ गते उपचारका लागि भर्ना गरिएको र सोही दिन उनमा कोरोना पोजेटिभ देखिएको दाहालले बताए । मोरङको रङ्गेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि यही कात्तिक १७ गते उपचारका लागि भर्ना गरिएका थियो ।

यसैगरी मोरङको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा झापाको दमक–६ की ४२ वर्षीया महिलाको बुधबार राति मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए । मृतक महिलालाई यही कात्तिक २६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको र सोही दिन पोजेटिभ देखिएको थियो ।

यस्तै मोरङको उर्लाबारी–८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । मृतक महिलालाई यही कात्तिक १५ गते कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बसेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । मृतकहरुलाई, रुघा, खोकी, ज्वरो आउने, श्वासप्रश्वासमा समस्या र बान्ता आउनेलगायत समस्या थियो ।

Share This:
सम्बन्धित खबर
Loading...