पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना रोकथाम र उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको क्षमता अभिवृद्धि गरिने बताएका छन् । मन्त्री गुरुङले कोभिड–१९ संक्रमित बिरामीको उपचारबारे भने, “अदालतले नै कोभिडको उपचार सरकारलाई निःशुल्क गर्नु भनेको छ, गण्डकी प्रदेश सरकारले पनि निःशुल्क उपचारका लागि प्रक्रिया अघि बढाएको छ ।”
अनलाइन पत्रकार संघ गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको स्वास्थ्य सामग्री हस्तान्तरण तथा वेबसाइट शुभारम्भ कार्यक्रममा उनले कोरोना संक्रमितको उपचारका लागि गण्डकी प्रदेश सरकारले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको क्षमता अभिवृद्धि गर्ने, यस क्षेत्रका अस्पताललाई ५०–५० शय्या छुट्याउन निर्देशन दिने र जिल्ला अस्पतालमा नै संक्रमितको उपचारका लागि आवश्यक प्रक्रिया सुरु गरिने बताए । अहिलेको जटिल अवस्थामा जनताहरुले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार होम आइसोलेसनमा बसेर स्वयं उपचार गर्न सकेको खण्डमा कोरोना महामारी नियन्त्रणमा ल्याउन सहज हुने उनको भनाइ थियो ।
संघका अध्यक्ष गणेश बरालले पोखरा–१७ निवासी हाल बेलायतमा रहेका इन्द्र घोतानेको सक्रियतामा अनलाइन पत्रकार संंघलाई ९१ हजार रुपैयाँ प्राप्त भएको जानकारी गराए । उनले उक्त रकमबाट अनलाइनमा कार्यरत पत्रकारलाई सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सामग्री वितरण गरिने जानकारी दिए ।
सो अवसरमा संघका सल्लाहकारद्वय राष्ट्रिय खेलकूद पत्रकारिता पुरस्कारबाट सम्मानित केशव पाठक र प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट सम्मानित दीपेन्द्र श्रेष्ठलाई संघले सम्मान गरेको थियो ।