एम्बुलेन्सविहीन धौलागिरी अस्पताल

335

गलकोट । कोरोना महामारीका समयमा स्थानीय तहमा समेत एम्बुलेन्सको अभाव खड्किएका बेला अस्पतालमा एम्बुलेन्स अपरिहार्य नै हुन्छ । चार जिल्लाको केन्द्रमा रहेको धौलागिरी अस्पतालसमेत पछिल्लो समय एम्बुलेन्सविहीन बन्न पुगेको छ ।

एक महिना अगाडिसम्म एउटा एम्बुलेन्सको भरमा बिरामीलाई सेवा दिँदै आएको अस्पतालमा अहिले एम्बुलेन्स बिग्रिएर थलिएपछि एम्बुलेन्सविहीन बन्न पुगेको अस्पतालले जनाएको छ । चार जिल्लाका बिरामीको उपचार गर्ने गरी २०६७ सालमा जिल्ला अस्पतालबाट धौलागिरी अस्पतालमा स्तरोन्नति भएको अस्पतालमा तीन चारवटा एम्बुलेन्स आवश्यक भएपनि अहिले कोरोना सङ्कटमा एउटा समेत एम्बुलेन्स नभएको धौलागिरी अस्पताल बागलुङले जनाएको छ ।

अस्पतालमा चार वर्षदेखि सञ्चालनमा आएको एम्बुलेन्स अचानक बिग्रिएपछि अहिले अस्पताल एम्बुलेन्सविहीन बन्न पुगेको धौलागिरी अस्पतालमा सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिए । उनले भने, “एक महिनादेखि अस्पतालका बिरामी बोक्ने एम्बुलेन्स थन्किएको छ, मर्मत गर्न धेरै खर्च लाग्ने भएपछि एम्बुलेन्स सञ्चालनमा आउन सकेको छैन ।” अस्पतालमा विकल्पका रुपमा एम्बुलेन्स नहुँदा बिरामीहरु महङ्गो मूल्यमा निजी सवारीसाधन चढ्न बाध्य भएका छन् ।

एम्बुलेन्सको इन्जिन बिग्रेका कारण मर्मत खर्च धेरै लाग्ने भएकाले गण्डकी प्रदेश सरकारलाई नयाँ एम्बुलेन्सको माग गरी पठाइएको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरले बताए । धौलागिरी अस्पतालले कोरोना संक्रमितलाई रेडक्रसको एम्बुलेन्समा र अन्य बिरामीलाई अस्पतालकै एम्बुलेन्समार्फत सेवा दिइरहेको थियो ।

अचानक अस्पतालको एम्बुलेन्स थलिएपछि अहिले कोरोना संक्रमित र संक्रमितको शव बोक्नका लागि बागलुङ नगरपालिकाले रेडक्रसको एम्बुलेन्स सञ्चालनमा ल्याइरहेको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी पैंयुपाटा उपशाखा र बिहुँ उपशाखाको एम्बुलेन्स चालक संक्रमित बोक्न नमानेपछि जिल्ला प्रहरी कार्यालय र बागलुङ नगरपालिकाले आफ्नै चालक व्यवस्थापन गरी एम्बुलेन्स सञ्चालन गर्दै आएका छन् ।

गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताललाई गण्डकी प्रदेशको उप–प्रादेशिक अस्पताल बनाउने गरी २ सय शय्यामा स्तरोन्नतिका लागि बजेटसमेत विनियोजन भएको समयमा अस्पतालमा भने बिरामी बोक्ने एम्बुलेन्ससमेत छैन । पचास शय्याबाट सेवा दिदै आएको अस्पतालमा पछिल्लो समय भौतिक तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गरेपनि अस्पतालले एम्बुलेन्स खरिद गर्न रकम नभएको जनाएको छ । अस्पतालले खरिद गर्ने क्षमता नभएपछि प्रदेश सरकारलाई एम्बुलेन्स माग गरेको अस्पतालको भनाइ रहेको छ । धौलागिरी अस्पताललाई २ सय शय्यामा स्तरोन्नति गर्न गण्डकी प्रदेश सरकारले रु एक करोड बजेट विनियोजन गरिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...