यो साता विदेशमा ९६३ नेपालीमा कोरोना संक्रमण

133

लन्डन । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएदेखि विदेशमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता विदेशमा रहेका थप ९ सय ६३ नेपालीलाई कोरोना संक्रमण देखिएको हो । संक्रमति मध्ये ४ सय ५० जना रोमानियामा रहेका नेपाली छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका हुन् । यद्यपि यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन ।

विदेशमा ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५ सय ६९ नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । तीमध्ये ३९ हजार ५ सय ६५ जना अर्थात ९२ प्रतिशत नेपाली कोरोनामुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

गत सातासम्म १९ देशका २ सय ८४ नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको संघले जनाएको छ ।

अनावश्यक यात्रा नगरौँ
संघले अत्यावश्यक बाहेक अन्य कामका लागि यात्रा नगर्न सबैलाई आग्रह गरेको छ । कोरानो भाइरसको विश्वव्यापी संक्रमणका कारण बेलायत, फ्रान्स, बेल्जियम र जर्मनी जस्ता शक्तिशाली मुलुकमा दोस्रो चरणको लकडाउन सुरु भएको अवस्थामा अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि यात्रा तय नगर्न संघले आव्हान गरेको हो ।

संघ अन्तरर्गतको स्वास्थ्य समितिका संयोजक डा सापकोटाले सार्वजनिक कार्यक्रममा उपस्थित नहुन र अनावश्यक भेलासमेत नगर्न आग्रह गरेका छन् । स्वास्थ्य समितिले सार्वजनिक स्थलहरुमा निस्किँदा मानिसहरुलाई सकेसम्म मास्कको प्रयोग गर्न, हात धुन, मुख नछुन, नाक नकोट्याउन अनुरोध गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...