शिर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

268

काभ्रेपलाञ्चोक । कोरोना संक्रमणका कारण काभ्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको बुधबार मृत्यु भएको छ । ती ७५ वर्षीया वृद्धाको वनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

जिल्लामा कोरोना भाइरस संक्रमितको सङ्ख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । बुधबार जिल्लामा ४०संक्रमित थपिएका छन् । पोष्टका अनुसार मंगलबार ५८ थिए भने सोमबार ४३ मा कोरोना संक्रमण देखियो । आजसम्म संक्रमितको सङ्ख्या एक हजार १ सय ३६ पुगेको छ जसमध्ये ४ सय २३ महिला र ६ सय ९२ पुरुष संक्रमित हुन् । कूल सक्रिय संक्रमितमध्ये ३५ प्रतिशत बनेपा नगरभित्र मात्रै छन् । नगरमा बुधबार सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष संक्रमित छन् । यस्तै, कुल सक्रिय संक्रमितमध्ये आजसम्म धुलिखेलमा ३३ प्रतिशत अर्थात् १ सय ६१ छन् । पनौतीमा ४४, पाँचखालमा ३१, नमोबुद्धमा ३४, मण्डनदेउपुरमा १४, भुम्लु गाउँपालिकमा तीन, रोशीमा ११, महाभारत गाउँपालिकामा तीन संक्रमित छन् ।

काभ्रेको १३ मध्ये तीन गाउँपालिका कोरोनामुक्त छन् । बेथानचोक, तेमाल र खानीखोला गाउँपालिका कोरोना मुक्त भएका हुन् । सबैभन्दा कम चौंरीदेउराली गाउँपालिकामा एक जना पुरुष रहेका छन् ।

जिल्लामा महिलाभन्दा तेब्बर सङ्ख्या हाराहारिमा पुरुषमा कोरोना संक्रमण देखिँदै आएको छ । कुल संक्रमितमध्ये ६१ प्रतिशत पुरुषमा संक्रमण देखिएको पोष्टले जनाएको छ । संक्रमितमध्ये २ सय १७ महिला तथा ४ सय १२ पुरुषमा संक्रमण निको भैसकेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । उनका अनुसार कुल संक्रमितमध्ये हालसम्म ५४ प्रतिशत अर्थात् ५ सय ९३ जना उपचारपछि निको भई घर फर्किएका छन् । अधिकांश संक्रमित ४५ वर्ष नाघेका रहेको तथ्याङ्कले देखाएको छ ।

“काभ्रेमा केही दिनदेखि सरदर दैनिक ४० जनामा संक्रमण देखिएको छ, त्यसमध्ये बनेपामा अधिक देखिन्छ”, डा झाले भने । पोष्टका अनुसार हाल सक्रिय संक्रमितमध्ये ३५ महिला र ८८ पुरुष अस्पताल आइसोलेसन र १ सय ५९ महिला र २ सय १५ पुरुष होम आइसोलेसनमा उपचाररत छन् । यसैबीच, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जूलाई कोरोना संक्रमण भएको छ । नगर स्वास्थ्य शाखा संयोजक सन्दिप केसीका अनुसार जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा गरिएको पिसिआर परीक्षणमा ब्याञ्जूलाई बुधबार कोरोना संक्रमण पुष्टी भएको हो । उनले आज सामाजिक सञ्जालमार्फत आफूसहित परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टी भएकोसमेत जानकारी गराएका छन् ।

ब्याञ्जूलगायत धुलिखेल नगर कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजैदेखि नगरको अत्यावश्यकबाहेक आउँदो ५ गतेसम्म अन्य सेवा बन्द गरिएको छ । साथै, नगरद्वारा जारी सूचनामा नगरका केही जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएकाले उनीहरुको सम्पर्कमा आएकाको स्वाब सङ्कलन गरी नतिजा नआएसम्मका लागि वडा कार्यालयबाटसमेत प्रदान गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...