हाइब्रिड बीउ उत्पादन गरेर लाखौ आम्दानी

305

दैलेख । जिल्लाको दुर्गम गाउँका किसानले हाइब्रिड बीउ उत्पादन तथा बिक्री गरेर वर्षेनि लाखौ मूल्यबराबरको आम्दानी गर्न सफल भएका छन् । दुल्लु नगरपालिका वडा नम्बर १३ का पौरखी किसान विष्णुबहादुर शाहीसहित ८० जनाको समूहले यस्ता बीउ उत्पादन र बिक्री वितरण गर्दै आएका हुन् ।

किसान शाही अहिले आफूले उत्पादन गरेको सृजना हाइब्रिड टमाटरको बीउ सुकाउने तरखरमा छन् । उनले एक किलोग्राम यो बीउ रू ५५ हजारमा बिक्री हुने बताए । यो वर्ष समूहका सबै मिलेर १० किलोग्राम बीउको माग पूरा गर्नुपर्ने छ । कृषक शाहीले भने, “हामीले हातेमालो सहकारीमार्फत बीउ उत्पादन गर्ने गरेका छौँ, प्लास्टिकको घरमा हाइब्रिड बीउ निकाल्न निकै मेहनत गर्नुपर्दछ ।”

सहकारीमा आबद्ध २ सय ८० किसानमध्ये गत वर्षदेखि ८० किसानले टमाटर, प्याज, सिमी, मुला, चम्सुरलगायत बीउ उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । गत वर्ष रू ८० लाखको बीउ बिक्री गरेका त्यहाँका किसान यो वर्ष रू १ करोड २० लाखको बीउ बिक्री गर्ने तयारीमा छन् । उत्पादित बीउ सिए सिड कम्पनीले खरिद गर्दै आएको छ । एउटा किसानले न्यूनतम रू ५ लाखसम्म आम्दानी गर्न सफल भएका छन् ।

कृषि विकास कार्यालयले बीउ उत्पादनका लागि पक्की प्लास्टिक घर निर्माणसँगै प्रविधिमा पनि सहयोग गर्दै आएको उक्त कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए । अहिले उक्त कार्यालय र सहकारीको साझेदारीमा रू २० लाखको लगानीमा १२ वटा पक्की टनेल निर्माण गरिएको छ । यसले बीउ उत्पादनमा निकै सहयोग पुग्ने सम्बद्ध किसानले बताए । बीउ उत्पादनबारे जानकारी लिन कर्णाली प्रदेश सरकारका सभामुख राजबहादुर शाही र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले स्थलगत अवलोकन गरे । किसानले उत्पादन गरेको बीउको प्रवर्द्धनसँगै प्याकेजिंङको व्यवस्थापन गर्न प्रदेश सरकारले सहयोग गर्ने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...