विभिन्न स्थानबाट फेला पारेका मोटरसाइकल ट्राफिक प्रहरीले धनीलाई बुझायो

249

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २६ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

कोभिड–१९ को माहामारीका बीचमा महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले खोजी गरी फेला परेको मोटरसाइकल शुक्रबार एक समारोहका बीच धनीलाई हस्तान्तरण गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले चावी हस्तानतरण गर्दै सवारी साधन पार्किङमा राखिएको छ भनेर मात्रै ढुक्क नहुन आग्रह गरे ।

उपत्यकाका नयाँबसपार्क, ठमेल, लाछिटोल, बोडे, सूर्यविनायक, वसुन्धारा, वनस्थली, नयाँबानेश्वर, सानेपा, गौशाला, नक्साल, ठमेल, शान्तिनगर, सामाखुसी, छाउनी, बालाजु, लैनचौर, नयाँबसपार्क, ज्ञानेश्वर, इमाडोल, जडीबुटी, वनकाली, जोरपाटी र पुतलीसडकबाट ती मोटरसाइकल हराएको थियो ।

एकान्त ठाउँको पार्किङस्थल, घरको गेटबाहिर वा अस्पताललगायतका स्थानमा अतिरिक्त लक प्रयोग नगर्दा, जुनसुकै साँचोले खोल्ने अवस्था भएका सवारी मर्मत नहुँदा, घरमा पार्किङ गरेको भनी लापर्वाही वा असुरक्षित पार्किङ गर्दा मोटरसाइकल चोरी हुने गरेको ढकालले बताए । उनले भने, “चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाइन १०३ वा ‘लस्ट भेइकल एप्लिकेसन’मा लगइन गरेर निवेदन दिन सक्नुहुन्छ ।”

उनले सवारी साधनलाई चोरी हुनबाट जोगाउन अतिरिक्त लक प्रयोग गर्न, अलरामलगायतका उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ गरेको भनी ढुक्क नपर्न र एकै छिन त हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न पनि सुझाव दिए ।

महाशाखाले आर्थिक वर्ष २०७६/७७ मा मात्रै चोरी भएका ३ सय २५ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक जितेस दाहालले जानकारी दिए । बन्दाबन्दीपछि हालसम्ममा पनि ६४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई बुझाएको महाशाखाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...