मोरङमा एकैदिन कोरोना संक्रमणबाट छ जनाको मृत्यु

238

मोरङ । मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा नोबेल शिक्षण अस्पताल विराटनगरमा चार, विराट मेडिकल कलेज बूढीगङ्गामा एक र म्याक्स इन्टरनेसनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरमा एक जनाको मृत्यु भएको हो ।

नोवेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारीकी ६६ वर्षीया महिला, झापा विर्तामोडका ७५ वर्षीय वृद्ध, मोरङ सुन्दरहरैँचा नगरपालिका–१० की ६९ वर्षीया महिलाको शनिबार मृत्यु भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

इटहरीका ४३ वर्षीय पुरुषको नोवेल शिक्षण अस्पताल अगाडि शुक्रबार एम्बुलेन्समा नै मृत्यु भएको छ । मृतक कोरोना पोजेटिभ देखिएपछि उपचारका भर्ना हुन अगाडि नै मृत्यु भएको प्रबन्धक दाहालले बताए ।

विराट शिक्षण अस्पतालमा विराटनगर–३ का ६५ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । मृतक यही कात्तिक ६ गते उपचारका लागि भर्ना भएको आइसाेलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

यस्तै, म्याक्स ट्रमा सेन्टर विराटनगरमा उदयपुरकी ४२ वर्षीया एक महिलाको शनिबार मृत्यु भएको छ । मृतक उपचारका लागि शुक्रबार अस्पतालमा भर्ना भएको प्रबन्धक हेमनारायण मेहताले बताए । प्रदेश नम्बर १ मा अहिलेसम्म कोरोना संक्रमणबाट १ सय ९२ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...