बाँके र प्युठानमा गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु

145

राँझा । बाँकेमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुष रहेको छ । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत उनको शनिबार बिहान पाँच बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि ११ कात्तिकमा शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको परीक्षण गर्दा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित ती पुरुषलाई रोगको प्रकृति अनुसार प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गरेपनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको शनिबार बिहान मृत्यु भएको हो ।

योसँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आउने संक्रमितमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको बताइएको छ । अहिलेसम्म बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।

यसैगरी, प्युठानको माण्डवी गाउँपालिका–३ दारिमचौरका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गएराति ११ बजे मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोखरेलले जानकारी दिए ।

निमोनिया रोगबाट ग्रसित उनको वुटवलमा उपचार नभएपछि थप उपचारका लागि चितवन लगिएको थियो । रोगको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख पारेखरेलले बताए । योसँगै प्युठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...