हैदराबादद्वारा दिल्लीमाथि ८८ रनको शानदार जित : दिल्लीको प्लेअफमा पुग्ने अवसर गुम्यो

294

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएइ) मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद विजयी भएको छ । मंलबार राति भएको खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको हो । प्लेअफमा पुग्नलाई जित्नै पर्ने दवामा रहेको हैदराबादले दिल्लीमाथि जित हात पार्दै छैटौं स्थानमा उक्लिएको छ भने दिल्लीले अर्को खेलको नतिजा कुर्नुपर्ने भएको छ ।

२ सय २० रनको विशाल लक्ष्य पच्छाएको दिल्लीले १ सय ३१ रन मात्र बनाउँन सक्यो । निरन्तरको अन्तरालमा विकेट गुमाएका दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ३६ रन, अजिङ्क्य रहानेले २६ र शिम्रोन हिटमेयरले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन ।

पहिलाे ओभरको तेस्रो बलमा शिखर धवनलाई शून्य रनमा गुमाएको दिल्लीले दोस्रो ओभरको अन्तिम बलमा मर्कूस स्टोइनिसलाई व्यक्तिगत पाँच रनमा विकेटको रुपमा गुमाए । यस्तै, तेस्रो विकेटका लागि रहानेसँग ४० रनको साझेदारी गरेका शिम्रो हिटमेयर पनि १६ रन बनाउँदै राशिद खानको बलमा बोल्ड आउट भए । राशिद खानको सोही ओभरमा रहाने पनि एलबिडब्यु धरापमा परे । उनले आउट हुनअघि एक छक्का र ३ चौकाको मद्धतमा २६ रन बनाएका थिए ।

यसैगरी, दिल्लीको स्कोर ७८ रन हुँदा आधा खेलाडी आउट भइसकेका थिए । दिल्लीका कप्तान श्रेयास आयर ७ रनमा आउट भए । त्यसको लगात्तैकाे ओभरमा राशिद खानकै बलमा अक्षर पटेल १ रनमा प्रियम गार्गको हातबाट क्याच आउट भए ।

यस्तै, कगिसो रबडा ३, रविचन्द्रन अश्विन ७ तथा तुशार देशपाण्डे २० रनमा नटआउट रहे ।

दिल्लीलाई सस्तैमा समेट्ने क्रममा हैदराबादका राशिद खानेले ३, सन्दीप शर्मा र टी नटराजनले समान २-२ विकेट तथा शाहबाज नदीम, विजय शंकर तथा ज्यासन हाेल्डरले एक-एक विकेट लिए ।

आजकाे खेलमा ४ ओभरमा ७ रन दिएर तीन विकेट लिएका राशिद खानले दिल्लीविरुद्धकाे दुई खेलमा ६ विकेट लिएका छन् । उनले पहिलो चरणको खेलमा चार ओभरमा १३ रन दिएर ३ विकेट लिएका थिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय १९ रन बनाएको थियो ।

राम्रो शुरुवात गरेको हैदराबादले पहिलो विकेटका लागि ऋद्धिमान साह र डेविड वार्नरले १ सय ७ रनको शतकीय साझेदारी गरेका थिए । साहले ४५ बलमा २ छक्का र १२ चौकाको मद्धतमा ८७ तथा वार्नरले ३४ बलमा २ छक्का र ८ चौकासहित ६६ रन बनाए ।

यसैगरी, मनिष पाण्डे र केन विलियम्सनले नटआउट ४४ तथा ११ रनको योगदान दिए ।

दिल्लीका एनरिच नोर्ट्जे र रविचन्द्रन अश्विनले समान एक-एक विकेट लिए ।

प्लेअफमा पुग्नका लागि संघर्ष गरिरहेकाे हैदराबादले दिल्लीमाथि ८८ रनकाे जितसँगै १२ खेलबाट १० अंकसहित तालिकाकाे छैटाैं स्थानमा उक्लिएकाे छ । समान १० अंक भएपनि राजस्थान राेयल्स रनरेटकाे आधारमा हैदराबादभन्दा पछि परेकाे हाे । पराजित दिल्ली भने प्लेअफमा पुग्नलाई अर्काे खेलसम्म पर्खनु पर्ने भएकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...