मुम्बइमाथि राजस्थान ८ विकेटले विजयी, आइपिएल झन राेमाञ्चक बन्दै

280

काठमाडौं । युएइमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान राेउल्स विजयी भएकाे छ । आइतबार राति सम्पन्न खेलमा राजस्थानले मुम्बइ इन्डियन्सलाई ८ विकेटले पराजित गरेकाे हाे ।

१ सय ९६ रनकाे विशाल लक्ष्यलाई पच्छाएकाे राजस्थानले १८.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टाएकाे थियाे । राजस्थानकाे जितमा बेन स्ट्राेक्सले शतकीय पारी खेले । पहिलाे २ विकेट सस्तैमा गुमाएकाे राजस्थानका लागि तेस्राे विकेटकाे रूपमा स्ट्राेक्स् र सञ्जु सामसनले १ सय ५२ रनकाे साझेदारी गर्दै जित दिलाए ।

याे संस्करणकाे आइपिएलमा विदेशी खेलाडीकाे तर्फबाट पहिलाे शतक प्रहार गरेका स्टाेक्सले ६० बलमा ३ छक्का र १४ चाैकाकाे मद्धतमा नटआउट १ सय ७ तथा सामसनले ५४ रन बनाए ।

यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा १ सय ९५ रन बनाएको थियो ।

मुम्बइका ओपनर क्वुइन्टाेन डि काेक पहिलाे ओभरकाे पाँचाैं बलमा व्यक्तिगत ६ रनमा आउट भएका थिए । दाेस्राे विकेटका लागि सूर्यकुमार यादवसँग ८३ रनकाे साझेदारी गरेका इशान किशन ३७ रनमा कार्तिक त्यागीकाे बलमा जाेफ्रा आर्चरद्वारा क्याच आउट भए ।

यसैगरी, यादवले २६ बलमा १ छक्का र ४ चाैकाकाे मद्धतमा ४० रन जाेडे । यस्तै साेरभ तिवारीले ३४ तथा अन्त्यतिर हार्दिक पाण्ड्याले २१ बलमा ७ छक्का र २ चाैकासहित नटआउट ६० रनकाे याेगदान दिए ।

राजस्थानका जाेफ्रा आर्चर र श्रेयास गाेपालले २-२ तथा कार्तिक त्यागीले १ विकेट लिए ।

जितसँगै राजस्थानकाे प्लेअफमा पुग्ने झिनाे आशा अझैपनि जिवितै रहेकाे छ । १२ खेलबाट पाँचमा जित र ७ खेलमा हारसहित १० अंक जाेड्दै छैटाैं स्थानमा उक्लिएकाे छ भने मुम्बइ १४ अंकसाथ पहिलाे स्थानमा यथावत् रहेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...