राजस्थानमाथि ८ विकेटले विजयी हुँदै हैदराबाद पाँचाैं स्थानमा

165

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएइ) मा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद विजयी भएकाे छ । बिहीबार राति सम्पन्न खेलमा हैदराबादले राजस्थान रोयल्समाथि ८ विकेटकाे जित हात पार्दै पाँचाैं स्थानमा उक्लिएकाे छ ।

राजस्थानले दिएकाे १ सय ५५ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी रहँदा २ विकेटकाे क्षतिमा भेट्टायाे । पहिलाे दुई विकेट सस्तैमा गुमाएकाे हैदराबादका लागि मनिष पाण्डे र विजय शंकरले शतकीय साझेदारी गर्दै जित दिलाए ।

पाण्डे र शंकरले नटआउट ८३ र ५२ रनकाे पारी खेले । पाण्डेले ४७ बलमा ८ छक्का र ४ चाैकासहित ८३ रन जाेडे भने शंकरले ५१ बलमा ६ चाैकाकाे मद्धतमा ५१ रनकाे अर्धशतकीय पारी खेले । यसैगरी, जाेनी बेइस्ट्राेले १० तथा कप्तान डेविड वार्नरले ४ रन बनाए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटकाे क्षतिमा १ सय ५४ रन बनाएको थियो ।

उत्कृष्ट सुरुवात गरेको राजस्थानले ३.३ ओभरमा ३० रन बनाउँदा ओपनर रोबिन उथप्पा १९ रनमा रनआउट हुन पुगे । उनलाई एक रन लिने क्रममा ज्यासन होल्डरले रनआउट गरे ।

यस्तै दोस्रो विकेटका लागि बेन स्ट्रोक्ससँग ५६ रनको साझेदारी गरेका सञ्जु सामसन ३६ रनमा आउट भए । यसैगरी स्टेक्सले ३०, रियान परागले २०, कप्तान स्टेभन स्मिथले १९ तथा जाेफ्रा आर्चरले अविजित १६ रनकाे पारी खेले ।

हैदराबादका ज्यासन हाेल्डरले ३, विजय शंकर र राशिद खानले समान एक/एक विकेट लिए ।

राजस्थानमाथि जित हासिल गरेकाे हैदराबाद पाँचाैं स्थानमा उक्लिएकाे छ । १० खेलबाट ८ अंक बनाएका हैदराबाद पञ्जाब र राजस्थानभन्दा राम्राे रनरेट भएपछि साे स्थानमा पुगेकाे हाे । पराजित राजस्थान भने साताैं स्थानमा झरेकाे छ ।

Share This:
सम्बन्धित खबर
Loading...