म्याक्स हस्पिटलमा ५० बेडको कोभिड अस्पताल सञ्चालन

245

मोरङ । विराटनगर महानगरपालिकाको पहलमा म्याक्स इन्टरनेसनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगर–१५ महेन्द्र चोकमा आजदेखि ५० बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा सेन्टरका प्रबन्धक निर्देशक हेमनारायण मेहताबीच मंगलबार एक सहमति गरी अस्पताल सञ्चालन गरिएको छ ।

सेन्टरले आफ्ना अन्य सेवा स्थगित गरी पाँच भेन्टिलेटर र १२ बेडको सघन उपचार कक्ष (आइसियू) सहित ५० बेडको सेवा सुरु गरेको हो ।

सेन्टरले १२/१२ घण्टाको पालोमा चार चिकित्सक सहित ३८ जना स्वास्थ्यकर्मी कोभिडका संक्रमितका उपचारका लागि सेवा प्रवाह गर्ने निर्देशक मेहताले बताए । महानगरपालिकाको तीन र सेन्टरको अक्सिजन सहित एक एम्बुलेन्सले कोभिड संक्रमितलाई आवश्यक सेवा प्रदान गर्ने भएको छ । सेन्टरको निरीक्षण पछि महानगरपालिकाका प्रमुख पराजुलीले नागरिकको स्वास्थ्य प्रमुख दायित्व भएकोले संक्रमितको उपचारका लागि कुनै कमी हुन नदिन आवश्यक पर्ने सहयोग महानगरपालिकाले उपलब्ध गराउने बताए ।

उनले निजी क्षेत्रको सहयोगमा महानगरले न्यूरो अस्पतालमा १ सय ५० र अर्को एक स्थानमा अक्सिजन सहितको १ सय बेडको कोभिड आइसोलेसन सञ्चालनमा ल्याउन लागि रहेको जानकारी दिए ।

महानगरपालिकाले कोभिड संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थान गर्नुका साथै विराटनगर–१९, बैजनाथपुर, मारवाडी सेवा सदन, जैन भवन, काली सेवा सदन लगायतमा आइसोलसन सञ्चालन गर्दै आइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...