मौरीपालनबाट मनग्य आम्दानी

361

बागलुङ । जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष भयो । आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउने उनको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ । उनको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ ले चिनिन्छ ।

उद्योगमा सेरेना जातका २ सय घार मौरी छन् । १ सय घारबाट मह र १ सय घारबाट मौरीका गोला बेच्ने गरेको उपाध्यायले बताए । “मह र गोलाबाट वर्षमा रु १० लाख बढी कमाइ हुन्छ”, उनले भने । अनुकूल मौसम पर्दा मह उत्पादन अझ बढ्छ । यो वर्ष भने अधिक वर्षाका कारण मौरीपालक किसान मर्कामा परेको उनको भनाइ छ । वर्षाले फूल झारेपछि मौरीको आहार गुम्छ । मौरी पनि चरनमा कमै निस्कन्छन् ।

उपाध्यायको उद्योगमा वार्षिक एक हजार २ सय किलोसम्म मह उत्पादन हुन्छ । एक किलो मह रु एक हजार २ सयमा बिक्री हुन्छ । यस्तै एक गोला मौरीको भाउ रु पाँच हजार ५ सय छ । “बजारको कुनै समस्या छैन, बरु मह पु¥याउनै सकिएको छैन”, उपाध्यायले भने । उनका अनुसार वर्षको दुई याममा मह उत्पादन हुन्छ । एउटै याममा चार÷पाँच पटकसम्म मह निक्लने गर्छ । मौसमले साथ दिएका बेला एउटै घारबाट आठ किलोसम्म मह आउँछ । उनले घरसँगै सदरमुकाम बागलुङ बजारबाट मह र मौरी बिक्री गर्दै आएका छन् । बाहिरी जिल्लाबाटसमेत उत्पादनको माग आउँछ । उपाध्यायले मौरीपालन रोज्ने किसानलाई तालिम पनि दिन्छन् ।

विसं २०४५ ताका काठमाडौं चोभारको ‘हिमालयन बी कन्सर्न’मार्फत मौरीपालनको तालिम लिएका उपाध्यायले भने, “मैले तालिम लिएर फर्केपछि अरुलाई सिकाउन थालेँ । अरुलाई तालिम दिँदै हिँड्ने तर आफूले चाहिँ नपाल्ने गर्दा अमिल्दो भयो भन्ने लागेर विसं २०५१ तिर व्यावसायिक मौरीपालन सुरु गरेँ ।” मौरीपालनमा लागेपछि उपाध्यायलाई कहिल्यै पछाडि फर्कनु परेन । उनी ३४औँ विश्व खाद्य दिवसमा देशभरमै उत्कृष्ट सेरेना मौरीपालक किसानका रूपमा सम्मानितसमेत भइसकेका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि उनको उद्योगलाई नमूना मौरीपालन फार्म घोषित गरी रु पाँच लाख अनुदान दिएको थियो ।

सफल मौरीपालक किसानका रूपमा उपाध्यायको चिनारी गाउँठाउँमा फैलिएको छ । कतिपयले त उनलाई ‘महराज’ भनेरसमेत बोलाउँछन् । उमेरमा विदेश जाने मोह उपाध्यायमा पनि नजागेको भने होइन । कैँयन हण्डर खाएपछि गाउँमै उद्यम गर्ने सोचले मौरीपालनमा लागेको उनले बताए । “मेरो पेशा र कमाइबाट म सन्तुष्ट छु, मेरो जिन्दगी नै मौरीको गोठालो भएर बित्ने भयो”, उनले भने । उपाध्यायको घर–व्यवहार मह÷मौरीकै आम्दानीबाट चल्छ । जोगाएको पैसाले सम्पत्तिसमेत जोडेका छन् । उनलाई घरका सदस्यले पनि मौरीको व्यवसायमा उत्तिकै सघाउँछन् । तीन भाइ छोरा विदेश छन् ।

जेठी बुहारी राधा र माइली खिराले सदरमुकाममै बसेर मह÷गोला बेच्ने प्रबन्ध मिलाउँछन् । घरमै रहेकी कान्छी बुहारी शर्मिला उपाध्यायसँगै उद्योगमा दैनिक खटिन्छन् । “मागअनुसार बजारबाटै पनि मह र गोला बेच्छौँ”, खिराले भनिन्, “गाउँको मह भनेर खोजीखोजी किन्न आउँछन् ।”

उनले ससुराबुवाको मेहेनत र लगाव सबैका लागि अनुकरणीय रहेको बताइन् । “परिवारलाई कहिल्यै अभावमा राख्नु भएन, त्यतिका वर्षअघि बुवाले सुरु गर्नुभएको मौलीपालनमा हामी पनि जोडिन पाएका छौँ”, खिराले भनिन् ।

Share This:
सम्बन्धित खबर
Loading...