आइपिएल २०२० : राजस्थानमाथि बेङ्गलोर ७ विकेटले विजयी

157

काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेञ्जर्स बेङ्गलोर विजयी भएको छ । शनिबार सम्पन्न पहिलो खेलमा बेङ्गलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।

१ सय ७८ रनको लक्ष्य पाएको बेङ्गलोरले दुई बल बाँकी रहँदा भेट्टाएको थियो । बेङ्गलोरको जितमा एबी डि भिलियर्स र गुरकिरत सिंह मानले नटआउट ५५ र १९ रनको पारी खेले । यस्तै, कप्तान विराट कोहलीले ४३, देवदत्त पडिक्कलले ३५ तथा आरोन फिन्चले १४ रनको योगदान दिए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको थियो ।

रोविन उथप्पा र बेन स्ट्रोक्सले राजस्थानका लागि राम्रो सुरुवात गरेका थिए । उनीहरुले ५.४ ओभरमा ५० रन पुरा गरे । आउट हुनअघि उथप्पाले ४१ तथा स्ट्रोक्सले १५ रन बनाएका थिए ।

यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सञ्जु सामसनले भने आजको खेलमा राम्रो प्रदर्शन गर्न सकेन । उनी मात्र ९ रनमा आउट भाए । राजस्थानका कप्तान स्टेभन स्मिथले सर्वाधिक रन बनाए । उनले ३६ बलमा १ छक्का र ६ चौकाको मद्धतमा ५७ रन बनाए ।

यसैगरी, विकेटकिपर ब्याट्सम्यान जोस बट्लरले २४ तथा राहुल तेवाटियोले नटआउट १९ रनको योगदान दिए ।

बेङ्गलोरका क्रिस मोरिसले ४ तथा युजवेन्द्र चाहरले २ विकेट लिए ।

यसअघि भएको पहिलो चरणको खेलमा राजस्थान बेङ्गलोरसँग ८ विकेटले पराजित भएको थियो ।

राजस्थानलाई पराजित गरेको बेङ्गलोरले ९ खेलबाट १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा यथावत रहेको छ भने राजस्थान पनि सातौँ स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...