झापामा सक्रिय संक्रमितको संख्या ३२१ : आज थप एकको मृत्यु

236

झापा । झापामा कोभिड–१९ को संक्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ का ५१ वर्षीय पुरुष छन् ।

स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ फोकल पर्सन जीवन चौलागाईँका अनुसार उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो ।

कोरोना भाइरसको लक्षण देखिएपछि परीक्षणका क्रममा असोज २७ गते उनमा कोरोना पोजिटिभ देखिएको उनले बताए । “सास फेर्न गाह्रो भएपछि बिएण्डसीमा उपचारका लागि राखिएको थियो”, उनले भने, “उपचारकै क्रममा हिजो(बिहीबार) राति निधन भएको हो ।” यससँगै झापामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

यता झापामा शुक्रबार ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नौ स्थानीय तहका आठ महिला र २२ पुरुषमा कोरोना पुष्टि भएको चौलागाईंले जानकारी दिए ।

भद्रपुरमा सात, बिर्तामोडमा नौ, अर्जुनधारामा तीन, कनकाई, कमल र शिवसताक्षीमा एक एक, दमकमा चार तथा बुद्धशान्ति र गौरादहमा दुई दुई जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै झापामा कोरोना संक्रमितको सङ्ख्या एक हजार २ सय ५० पुगेको छ । निको हुनेको सङ्ख्या ९ सय १६ छ । जिल्लामा ३ सय २१ सक्रिय संक्रमित छन् । जिल्लामा हालसम्म २८ हजार ४ सय ६३ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...