माथिल्लो तामाकोसीको जलाशयमा पानी भर्न सुरु

316

दोलखा । ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी खसाल्न थालिएको छ ।

बिहीबार दोलखाको लामाबगरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ र भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङले संयुक्तरुपमा स्वीच थिचेर सुरुङमा पानी खसाल्ने कामको शुभारम्भ गरे ।

माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङकोबीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम सकिएपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न थालिएको हो । मुख्य निर्माणअन्तर्गत बाँध÷इन्टेक, मुख्य सुरुङ, विद्युतगृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ ।

जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ । केही दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औपचारिकरुपमा उद्घाटन गर्ने मन्त्री गुरुङले जानकारी दिए । जलविद्युत् आयोजनामा अपर तामाकोशी महत्वपूर्ण गौरबको आयोजना भएको बताए ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले आठदेखि १० दिनभित्र सुरुङमा पानी भरिएपछि विद्युत उत्पादनको परीक्षण हुने बताए । त्यस्तै खिम्ती सबस्टेसनमा विद्युत पुराएर राष्ट्रिय प्रशारण लाइनमा आवद्ध गरिने उनले जानकारी दिए ।

पहिलो युनिटबाट बिजुली निकालेको १५–२० दिनमै अर्को युनिटबाट बिजुली उत्पादन सुरू हुने आयोजनाले जनाएको छ । अर्थात् जेठ महिनामै माथिल्लो तामाकोसीबाट डेढ सय मेगावाट बिजुली उत्पादन हुनेछ ।

उत्पादनको केही दिनपछि बन्द गरी उपकरणहरूको परीक्षण गरिनेछ । परीक्षण सफल भएपछि भने नियमितरूपमा व्यावसायिक उत्पादन हुनेछ । बिजुली उत्पादन भइ नसकेकाले आयोजनाको व्याजसहितको लागत बढिरहेको छ ।

कुल लागत ३५ अर्ब लाग्ने अनुमानका साथ आयोजना बनाउन थालिएको थियो । आयोजनाको कुल लागत ८६ अर्ब नाघ्ने अनुमान छ । हालसम्म करिब ८३ अर्ब रुपैयाँको लागत निस्किसकेको छ । कम्पनीले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार लामो अवधिको ऋण ४० अर्ब छ ।

Share This:
सम्बन्धित खबर
Loading...