काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस कोभिड–१९ संक्रमितको सम्पर्क (कन्ट्याक्ट ट्रेसिङ) मा आएका छन् ।
मंगलबार ऊर्जामन्त्री टोपबहादुर रायमाझी र एमाले नेता विष्णु रिजाललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री ओली कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
ऊर्जामन्त्री रायमाझीलाई मंगलबार बिहान कोरोना संक्रमण भएको थियो भने नेता रिजालले पनि मंगलबार साँझ संक्रमण भएको खबर सार्वजनिक गरेका थिए ।
आइतबार बालुवाटारमा भएको रायमाझी र रिजाल नेकपा एमालेको १०औँ महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी थिए । बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए ।
तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने बैठकमा दुरी कायम गरेर बसेको हुनाले प्रधानमन्त्री ओली कोरोना संक्रमितको सम्पर्क (कन्ट्याक्ट ट्रेसिङ) नपरेको बताएका छन् ।
बैठककै क्रममा रिजालले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसहित अन्य ५ नेताहरूसँग तस्बिर खिचाएका थिए ।
यस्तै प्रधानमन्त्रीसँगै बालुवाटारको बैठकमा सहभागी ५० भन्दा बढी एमाले नेता पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।